आश मारिसकेको फिल्म प्रदर्शनमा आउने भएपछि साम्राज्ञी दङ्ग

आश मारिसकेको फिल्म प्रदर्शनमा आउने भएपछि साम्राज्ञी दङ्ग

काठमाडौं : कलाकारहरूको भिसा नलागेपछि फ्रान्स र लण्डनमा सुटिङ गर्नुपर्ने फिल्म ‘लण्डन टु पेरिस’ बन्ने-नबन्ने अन्योल छायो। जताततै फिल्म नबन्ने समाचार छापिए।

आफूले अभिनय गर्ने भनेर प्रचार भइसकेको फिल्म नबन्ने भन्दा त्यसमा अनुबन्धित कलाकारलाई नराम्रो त लाग्ने नै भयो। तर, अनेक माछापच्छीका बीच फिल्म बनेरै छाड्यो। यो फिल्म बन्दा सबैभन्दा खुसी अनि दङ्ग देखिइन्थिन् अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह।

मंगलबार काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिज फिल्मको गीत ‘खुला आकाश’को रिलिज कार्यक्रम राखियो। कार्यक्रममा उपस्थित थिइन् उनै साम्राज्ञी अनि नवनायक निश्चल खड्का। 

‘दुई वर्षदेखि यो फिल्मको काम चल्दै बन्द हुँदै आइरहेको थियो,’ उनले हर्षित हुँदै भनिन्, ‘तर सबै काम सकिएर आफैँले यो गीत हेर्न पाउँदा म धेरै खुशी छु।’

घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञीलाई नवनायक खड्काको जोडी बनाइएको छ। कार्यक्रममा साम्राज्ञीले आफ्नो जोडी बाँधिएका निश्चलको खुलेर तारिफ गर्दै भोलिका दिनमा राम्रो कलाकार बन्ने तर्क गरिन्।

यो वर्ष अभिनेत्री साम्राज्ञीका फिल्म तीन फिल्म ‘नांगो गाउँ’, ‘ह्यारीकी प्यारी’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आए। तर, त्यसमध्ये ‘नाङ्गो गाउँ’ले मात्रै सम्झनलायक व्यापार गर्यो। तर, सो फिल्ममा उनी सहायक भूमिकामा मात्रै थिइन्।

दुई वटा मुख्य भूमिका रहेको फिल्मले सफलता हात नपारेपछि उनी ‘लण्डन टु पेरिस’बाट निकै अपेक्षा राखेकी छन्।

२८ चैत, २०८०, ११:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।