कमेडियनका फिल्म : मिलेर बनाउँदा ब्लकबस्टर, एक्ला-एक्लै हिरो बन्न खोज्दा हरिबिजोग

कमेडियनका फिल्म : मिलेर बनाउँदा ब्लकबस्टर, एक्ला-एक्लै हिरो बन्न खोज्दा हरिबिजोग

काठमाडौं : एक दशकअघि नेपाल टेलिभिजनबाट प्रसारण हुने अधिकांश सिरियल चलेका थिए। अझ बढी हास्य विद्याका सिरियलहरू दर्शकमाझ असाध्यै लोकप्रिय थिए। सन्तोष पन्तको हास्य सिरियल ‘हिजो आजका कुरा’देखि ‘तितो सत्य’, जिरे खुर्सानी’, ‘मेरी बास्सै’का हिट थियो।

यी सिरियलमा सानो भूमिकामा देखिने कलाकारलाई पनि दर्शकले नोटिस गर्थे। यिनै सिरियलका कलाकारहरू मिलेर ‘छ एकान छ’ फिल्म निर्माण गरे। राम्रै चल्यो पनि। सिरियलमा भन्दा फिल्ममा राम्रो कमाइ देखेपछि उनीहरू फिल्मतिरै आकर्षित भए अनि एकपछि अर्को फिल्म निर्माणमा जुटे।

एघार वर्षअघि पहिलो फिल्म ‘छ एकान छ’ले सर्वाधिक कमाइ गरेपछि लगातार ‘वडा नं ६’, ‘छक्का पञ्जा’ निर्माण गरे उनीहरूले। उनीहरूको फिल्मले बक्स अफिसमा हिट फिल्ममा नाम दर्ता गरायो। एकपछि अर्को फिल्ममा जुटेका यी कलाकारहरू आ-आफ्नै कारण फुटे पनि।

पहिलो फिल्ममा सहकार्य गरेका दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेलको टिमबाट केही कलाबार बाहिरिए भने केहीलाई निकालियो। सो टिमबाट कलाकार शिवहरी पौडेल र सीताराम कट्टेल आफैँ बाहिरिए भने जितु नेपाललाई ‘मुन्द्रेको कमेडी क्लब’को विषयलाई लिएर दीपक-दीपाले टिमबाट निकाले।

यद्यपि ‘निकाले’ भन्ने शब्द जितु आफैँ पनि सुन्न चाहँदैनन् भने दीपक-दीपालाई सुन्न मन लाग्ने कुरै भएन। दीपक-दीपाको टिमबाट बाहिरिएका कलाकारहरू कोही सहायक भूमिकामा अन्य फिल्म गर्दैछन् भने मुख्य भूमिकामै खेले पनि त्यस्ता फिल्म व्यावसायिक बन्न सकेका छैनन्।

कमेडियनको ग्रुपिजम चल्यो, एक्ला-एक्लै पार लागेन
टेलिभिजन सिरियलका कलाकारहरूले निर्माण गरेका फिल्म ग्रुपिजममा चलेका छन्। तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका कलाकार मिलेर निर्माण गरेका फिल्म ‘छ एकान छ’ हुँदै ‘छक्का पञ्जा’ सिरिजसम्म सबै चले। तर, त्यहिँबाट छुट्टिएका कलाकारहरूले अभिनय गरेका फिल्महरूको व्यापार भने हरिबिजोग छ।

एक दशकअघि दीपकराज गिरीको मुख्य भूमिकामा गोपीकृष्ण मुभिज्ले निर्माण गरेको फिल्म ‘सुन्दर मेरो नाम’ले हलमा पानी समेत भन्न पाएन। उनी तितो सत्य सिरियलमा जमिरहेको बेला गोपीकृष्ण मुभिज्को ब्यानरमा हिरो भएर काम गरेको थिए। उनको यो फिल्ममा दोहोरो भूमिका थियो। तर, दर्शकलाई उनले पत्याएनन्।

फिल्म ‘वडा नम्बर ६’कै टिमका केदार प्रसाद घिमिरे (माग्ने बुढा) र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘रामकहानी’को अवस्था पनि उस्तै रह्यो। यो फिल्मले नाम चलेका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र पूजा शर्मालाई नमज्जाले डुबायो। यो फिल्म हेर्न न माग्नेका दर्शक देखिए न पूजाक। फिल्मको नाम जस्तै फिल्म पनि रामकहानी नै बन्यो।

फिल्मका लागि केदारले १० लाख पारिश्रमिक बुझेका थिए। तर, फिल्मले हलबाट माग्नेकै पारिश्रमिक पनि उठाउन सकेन। त्यसपछि उनले दोहोर्याएर दीपक-दीपाको भन्दा बाहिरको फिल्म खेल्ने आँट गरेनन्।

दीपक-दीपाले टिमबाट हटाएपछि आफैँ हिरो बनेका जितु नेपालको अवस्था पनि केदारको भन्दा कम छैन। दीपक-दीपासँगको मनमुटावपछि जितु नेपालको अभिनय रहेको फिल्म ‘ह्यारी कि प्यारी’को अवस्था नाजुकै भयो। डाक्टर भोला रिजालले उनलाई फिल्ममा अनुबन्ध गरेर चल्तिकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई जोडी बनाइदिए।

यो फिल्म नेपालीका अलावा हिन्दीमा पनि डब गरिएको थियो। तर, यो फिल्मले हलबाट ‘प्रोडक्सन कस्ट’ पनि उठाउन सकेन, हिन्दीको त कुरै नगरौं। फिल्म फ्लप भएपछि मुन्द्रे टेलिभिजनमै फर्किए ‘मुन्द्रेको कमेडी क्लब’ मार्फत। यता पनि दर्शकले चासो दिन छाडेपछि फेरि बन्द गरेर उनी नयाँ फिल्मको तयारीमा जुटेका छन्।

बसन्त निरौलाले निर्देशन गर्न लागेको फिल्म ‘ज्वाइँ साब’को शीर्ष भूमिकामा उनी अनुबन्धित भएका छन्। राजकुमार पण्डितले निर्माण गर्न लागेको फिल्ममा जितुसँग कागजी सम्झौता भएको छ।

दीपक-दीपाकै टिमका अर्का कलाकार शिवहरि पौडेलले जम्बो कलाकार राखेर निर्माण गरेको फिल्म ‘लक्का जवान’को हालत पनि उस्तै भयो। ‘जिरे खुर्सानी’ लगायत केहि सियिरलमा लेखन तथा निर्देशनको रूपमा समेत काम गरिसकेका कलाकार पौडेलले दुई वर्षअघि फिल्म प्रदर्शनमा ल्याएका थिए फिल्म ‘लक्का जवान’।

उनले फिल्ममा नाम चलेका कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी लगायतलाई अभिनय गराए। फिल्मको ‘स्याउ रात्तै’ भन्ने गीत चले पनि फिल्मले हलबाट पैसो उठाउन सकेन अनि शिवहरिको पहिलो गाँसकै ढुङ्गा लाग्यो।

‘मेरी बास्सै’ हुँदै दीपक-दीपाको टिममा मिसिएका सीताराम कट्टेल ‘धुर्मस’ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ले पनि दर्शकको खासै साथ पाउन सकेन। कोरोना भाइरसकै बीचमा प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा फ्लप भयो, त्यसपछि सीतारामले अर्को फिल्म बनाउने आँट गर्न सकेका छैनन्।

हास्य सिरियल ‘हिजोआजका कुरा’बाट कहलिएका सन्तोष पन्तले निर्माण गरेको फिल्मको अवस्था पनि हरिबिजोगै भयो। गत वर्ष सिरियलकै नामबाट फिल्म निर्माण गरेका सन्तोष पन्तको पनि गीत बाहेक केहि चलेन। फिल्ममा समावेश गीत ‘माया जदौ’ले चर्चा कमाउन भने सफल भएको थियो।

कलाकार पन्तले यस फिल्ममा नाम चलेकै कलाकार राखेका थिए। फिल्ममा उनको साथमा रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, स्व. जयनन्दन लामा, रमेश अधिकारी लगायतका कलाकारले अभिनय गरेका थिए। तर फिल्मलाई दर्शकले पत्याएनन्।

२८ चैत, २०८०, ११:२९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।