प्रतिनिधि सभाको बैठक बस्दै, संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको अडान कायमै
काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। मंगलबार नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधिसभा आजका लागि सारिएको हो।
बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै सदनमा उभिएर विरोधमा उत्रिएका थिए।
सांसदहरूले संसद्मा निरन्तर अवरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर बैठक स्थगित गरियो।
उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले त्यसका लागि संसदीय छानबिन समिति गठन नभए आजको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने कार्यसूची छ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने अनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची पनि तय भएको छ।
अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सूची पनि संसद् सचिवाललयले तय गरेको छ।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलकोलागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।
चैत २८, २०८० बुधबार ०८:११:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।