कांग्रेस-रास्वपा टसल : ०४७ यताका भ्रष्टाचारका फाइल खोल्नुपर्नेमा शर्मा र वाग्लेको एक मत

कांग्रेस-रास्वपा टसल : ०४७ यताका भ्रष्टाचारका फाइल खोल्नुपर्नेमा शर्मा र वाग्लेको एक मत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एव गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे छानबिन गर्न नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ।

गृहमन्त्री लामिछाने विरुद्ध आफूहरूसँग थुप्रै प्रमाण भएको भन्दै संसदीय समिति नबनेसम्म कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनीसमेत दिँदै आइरहेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज आफ्नो मागमा अडान कायम राखेपछि भोलिसम्मका लागि संसद बैठक स्थगित नै भयो। 

यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग पटकपटक छलफल राखे पनि कांग्रेस टसकोमस भएको छैन।

सत्तापक्षका अन्य दलसहित रास्वपाले पनि छानबिन समिति बनाउन आवश्यक नरहेको बताइरहेको बेला पार्टीका उपसभापति स्वर्णिम वाग्लेले  विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न उच्च स्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने बताएका छन्। 

कांग्रेसलाई काउण्टर स्वरूप रास्वपाले ०४७ साल यताका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने माग अघि सारेको हो।

प्रतिनिधि सभाको बैठकपछि उपसभापति वाग्लेले भने- 'सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारको छानबिन गर्ने भनिएको छ। ललिता निवासको सुरुवाती त अहिले विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो। ललिता निवासदेखि अहिले वाइडबडी काण्डमा को-कोलाई जोगाइएको छ। यो सबैको छानबिन गर्नको लागि रास्वपाले उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ। एउटा व्यक्तिलाई खुइल्याउने, एउटा आरोपका भरमा पात्रलाई खुइल्याउने किसिमले होइन। ०४७ यताका उच्च पदस्थ पदमा बसेका व्यक्तिमाथि छानबिन गर्नुपर्छ।'

यता, रास्वपाको काउण्टरलाई स्वीकार गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त मागलाई समर्थन जनाएका छन्।

उनले भनेका छन्, 'सम्माननीय प्रधानमन्त्रीलाई सार्वजनिक अपिल, विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय समितिको माग रास्वपाले अहिले अघि सारेको छ, यो उपयुक्त छ। गठन गरौँ।'

तथापि अहिलेको परिस्थितिमा भने सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको अडान कायम छ। 

२७ चैत, २०८०, १७:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।