यी हुन् लुम्बिनी प्रदेशका ‘दीपक मनाङे’, जो एकै वर्षमा तेस्रोपटक मन्त्री बने

यी हुन् लुम्बिनी प्रदेशका ‘दीपक मनाङे’, जो एकै वर्षमा तेस्रोपटक मन्त्री बने

बुटवल : गण्डकी प्रदेश सरकारमा स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङे जस्तै लुम्बिनी प्रदेशमा पनि एक ‘दीपक मनाङे’ छन्। गण्डकी प्रदेश सांसद दीपक मनाङेजसरी गुण्डागर्दीबाट राजनीतिमा नआए पनि प्रदेश सरकार बदलिँदा सबैभन्दा बढी फाइदा लिने उनै देखिन्छन्।

प्रदेशको नेतृत्वमा जो आए पनि उनको नाममा एउटा मन्त्री छुट्टिएकै हुन्छ। केन्द्रमा सत्ता समीकरण परिवर्तन होस् वा त्यसको प्रभाव प्रदेशमा परोस्, उनलाई त्यसले खासै छुँदैन। उनी सधैँ मन्त्री।

गाउँपालिका अध्यक्षमा पराजित भएपछि प्रदेशमा उठेका उनी पछिल्लो एक वर्षमा बदलिएका तीन सरकारमा सधैँ मन्त्री भइरहे। उनी हुन्- जनता समाजवादी पार्टी(जसपा)का लुम्बिनी प्रदेशका संसदीय दलका नेता भण्डारीलाल अहिर।

आम निर्वाचनपछि बनेका तीन वटै प्रदेश सरकारमा उनी मन्त्री भए। मुख्यमन्त्री परिवर्तन हुँदा पनि उनको मन्त्री हुने श्रृंखला टुटेन। जनताका आधारभुत आवश्यकता अनि बाँकी कार्यभार पूरा गर्न अहिर बारम्बार मन्त्री बनेका होइनन्, सत्ता राजनितीमा हुने फेरबदलको मुनाफा उनलाई भएको हो।

हालै मात्र गठन भएको लुम्बिनी प्रदेशको नयाँ मन्त्रिपरिषद्मा अहिर मन्त्री बनेका छन्। हाल उनी  विना विभागिय मन्त्री छन्। ०७९ पुसमा एमाले संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार बन्यो। त्यो सरकारमा पनि जसपा सहभागी थियो। जसपाबाट उनै संसदीय दलका नेता अहिर मन्त्री बनेका थिए।

त्यसपछि केन्द्रमा भएको सत्ता फेरबदलपछि लुम्बिनीमा गिरी नेतृत्वको सरकार तीन महिनामा ढलेर कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नेतृत्वको नयाँ सरकार बन्यो। चौधरीको सरकारमा पनि जसपाबाट उनै अहिर मन्त्री बने। २०८० वैशाखमा चौधरी नेतृत्वको नयाँ बनेको सरकारमा उनी कृषि मन्त्री नै बने। यो पटक भने उनले ११ महिना काम गरे।

११ महिनाको बीचमा अहिर कामले भन्दा किसानको ‘थर्काइ’ले चर्चामा रहे। चौधरी नेतृत्वको सरकार ढलेर अहिले माओवादी नेतृत्वको सरकारमा पनि अहिर मन्त्री नै बनेका छन्। सत्तामा जाने दलहरूसँग बार्गेनिङ गर्दै सत्ता लिप्तमा लागेका अहिर जनताको कामप्रति भने त्यति गम्भीर छैनन्।

झण्डा हल्लाउँदै दैनिक स-साना कोठे गोष्ठीमा हिँड्नु नै उनको ११ महिने उपलब्धी हो। कृषि मन्त्रालयकै कर्मचारीहरू अहिरको कामदेखि सन्तुष्ट छैनन्।

‘नयाँ योजना केही हुँदैन। उहाँ मन्त्री मात्र हुनुहुन्छ। कृषिलाई कसरी व्यवसायीकरण गर्दै अगाडि बढाउने भन्ने योजना नै उहाँसँग छैन’, मन्त्रालयका एक कर्मचारीले बताए।

लुम्बिनीमा जसपाका तीन सांसद भए पनि अहिरले नै बारम्बार सत्ताको स्वाद लिइरहेका छन्।

बाँके क्षेत्र नम्बर २ (क) बाट निर्वाचित अहिर काम गरेर केही नयाँ रेकर्ड नबनाए पनि आम निर्वाचन-२०७९ पछि लुम्बिनीमा बनेका तीन वटा सरकारमा तीन पटक नै मन्त्री बनेर रेकर्ड भने कायम गर्न सफल भएका छन्।

उनी भाग्यमानी यति छन् कि, २०७९ पुसमा एमाले नेतृत्वको सरकारमा सहभागी हुँदा चढेकै सवारी साधन उनले अहिलेसम्म फेर्नुपरेको छैन। अहिरका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले मन्त्रीको रोजाइ कृषि मन्त्रालय रहेकाले उक्त मन्त्रालयको जिम्मेवारी नै पाउने सम्भावना रहेको बताए।

बाँके डुडुवा गाउँपालिका-३ वनकट्टीका ५६ वर्षीय अहिर राजनीतिमा आउनुअघि २५ वर्ष शिक्षण पेशा थिए। मन्त्री बन्नु आफ्नो रहर भन्दा पनि पार्टी नेतृत्वले गरेको निर्णयलाई स्वीकार गरेको रेडिमेड भाषण जहाँ पनि भनिरहेकै हुन्छन्।

गत वर्षको स्थानीय तहको चुनावमा डुडुवा गाउँपालिकाको अध्यक्ष नरेन्द्रकुमार चौधरीसँग १ हजार एक सय ४७ मतले पराजित भएका अहिर प्रदेशमा निर्वाचित भएसँगै मन्त्रीमा निरन्तरता पाइरहेका हुन्।

पालिकामा अध्यक्ष हारे पनि पार्टीले भण्डारीलाललाई प्रदेशको टिकट दिएको थियो। त्यसपछि उनी विजयी भएपछि पछाडि फर्केर भने हेर्नुपरेको छैन। जसपाबाट सबैभन्दा बढी लाभ लिनेको सूचीमा उनको नाम अगाडि छ।

बाख्रापालक किसानले थर्काएपछि चर्चामा
जनताका काममा भन्दा पनि गोष्ठीमै रमाउने मध्येका एक नेतामा पर्छन् जसपाका भण्डारीलाल अहिर। एमाले र कांग्रेस नेतृत्वको दुवै सरकारमा कृषि मन्त्री बनेका अहिरको चर्चा किसानले थर्काएपछि एकाएक चुलिएको थियो।

२५ भदौ, २०८० मा बुटवलमा लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम भयो।

सोही कार्यक्रममा व्यावसायिक बाख्रापालन गर्ने किसान प्रेमसागर पौडेलले सार्वजनिक कार्यक्रममै तत्कालिन अवस्थामा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका भण्डारीलाल अहिरलाई ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ भनेर थर्काएका थिए।

त्यसपछि मात्र उनको चर्चा प्रदेशमा काम नगर्ने सांसदका रूपमा थप परिचित बनेको थियो। अहिरलाई अहिले पनि उनका कार्यकर्ताले कामले भन्दा पनि राजनीतिक पहुँचकै आधारमा बारम्बार लाभको पद लिइरहेको बताउँदै आएका छन्।

हटेन मन्त्रालयको वेबसाइटमा नाम
संयोग पनि कस्तो, विना विभागिय मन्त्री भएपनि अहिरको नाम लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयबाट हटेको छैन। उनले चाहेको मन्त्रालय कृषि मन्त्रालय नै रहेपनि अहिले उनलाई मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रालयको जिम्मेवारी तोकेका छैनन्।

तर, पनि अहिरको नाम कृषि मन्त्रालयको वेबसाइटमा मन्त्रीकै नाममा छ। महराले विश्वासको मत प्राप्त गरेपछि मात्र विना विभागिय रहेका मन्त्रीहरूलाई जिम्मेवारी दिने बताइएको छ।

२७ चैत, २०८०, ०९:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।