धोकाले बलियो बनेकी सुनिता, जसले दु:ख दिने श्रीमानलाई ‘कुटेर’ आफ्नै संसार बनाइन्
परिचित नाम सुनिता लामा, नागरिकताको नाम सुकुमाया तामाङ। कालिकास्थान पीपलबोट अगाडि उनको ‘खाजा घर’ छ।
२६ वर्ष भयो, उनले यो खाजा घर चलाउन थालेको। उनकै शब्दमा भन्दा ‘होटल’ चलाएको। एउटै कोठा मात्र भए पनि उनको होटलमा ग्राहकको राम्रै भीड हुन्छ।
चिया, नास्तादेखि खानासम्म पकाएर अरूलाई खुवाउँदा उनी खुसी हुन्छिन्। उनको होटल यात्रामा एक समय यस्तोसम्म पनि थियो, ग्राहकलाई एकै दिन एक बोरासम्म चामलको खाना बनाएर उनले खुवाएकी छिन्।
नजिकै थुप्रै सरकारी तथा गैर सरकारी कार्यालयहरू भएकाले पनि तिनै कर्मचारीहरू उनका नियमित ग्राहक छन्। त्यो ‘कहानी जस्तो लाग्न सक्छ’ भनेर अहिले उनी हाँस्दै सुनाउँछिन्। तर, पछिल्लो समय भने त्यति धेरै व्यापार भएको उनलाई याद छैन।
‘एक बोरा चामलको भात पकाएर खुवाएको मैले नै हो। त्यो बेला त सस्तो पनि थियो,’ उनी सुनाउँछिन्, ‘सादा खानाको २५ रुपैयाँ। खसीको मासु भात नै ३५ रुपैयाँमा बेचेको हो। मट्टीतेल प्रयोग गरेर स्टोभमा सबै खाना बनाएर खुवाउँथे। त्यो हेरेर त अहिले मूल्य बढे पनि व्यापार नै छैन।’
एकताका उनले दैनिक २५ सयसम्म कमाउँथिन्। खर्च भने पाँच सय गरे पुग्थ्यो रे। दुई हजार त चोख्खै जोगाउने गरेको उनले सुनाइन्। सुनिताले कहिल्यै पनि आफू ‘साहुनी’ हुन्छु भनेर सोचिनन्। उनको घर नगरकोट। जिल्लाले काभ्रेपलान्चोक भेट्थ्यो। तर सबैले नगरकोट भनेर अहिले पनि त्यस ठाउँलाई नगरकोट नै भनिन्छ।
तामाङ समुदायमा सुनको अलग्गै महत्व छ। छोरीचेलीले त झन् जतिसक्दो धेरै लगाउनुपर्छ भन्ने मान्यता नै हो। छोरी बुहारीलाई अरू केही नदिए पनि सुन चैँ दिनुपर्छ भन्ने चलनले सुनिताले गाउँमा मज्जाले सुन लगाउन पाइन्।
कानको ल्वाती नै ठूलो हुने गरेर सुन लाउँथिन्। सिक्री र चुरा पनि लगाएकै थिइन्। तर, पढाइ भने सात कक्षामै रोकियो।
चुरोटमा मोहनी !
सबैजना विदेश जाने लहर चलिरहेको समयमा उनलाई पनि कोरिया जान मन लाग्यो। उनले घरमा आमाबासँग कुरा पनि राखिन्। त्यसबेला उनले नागरिकता बनाइसकेकी थिइनन्। उनले नागरिकता बनाइदिन घरमा आग्रह गरिन्। तर, उनका आमाबा भने उनलाई विदेश जान नदिने अडानमा थिए। किनभने त्यस बखत चेलीबेटी बेचबिखनको घटना धेरै थियो।
‘घरमा नागरिकता बनाइदिनु भनेको हुर्केको छोरीलाई किन नागरिकता बनाइदिनु भन्नुभयो। अनि मैले जिद्दी गरेपछि पहिला मेडिकल गरेर आइज अनि बनाइदिन्छु भन्नुभयो,’ उनी सम्झिँदै भन्छिन्, ‘म पनि हुन्छ भनेर मख्ख परेँ। मेडिकल गर्न काठमाडौं आउनुपर्थ्यो। मैले लगाएको सुन नै आठ तोलाको रहेछ। अनि डेढ लाख जति बोकेर मेडिकल गर्ने भनेर आएँ।’
वैदेशिक रोजगारीमा जान के गर्नुपर्छ, कहाँ जान पर्छ भन्ने सामान्य जानकारी पनि उनीसँग थिएन। गाउँकै एकजना ‘एजेन्ट’ सँग उनी र उनको गाउँले भाइ भेला भए। सुनिता चुरोटको अम्मली थिइन्। भक्तपुर आएपछि ती ‘एजेन्ट’ ले तीनवटा चुरोट किने। त्यसमध्ये एउटा सुनितालाई दिए।
‘मैले भ्रम छर्न खोजेको त होइन। तर एउटा चुरोटमा अबिर लागेको थियो। त्यो खाएपछि म त निदाएछु। ब्यूँझिँदा दुवै भाइ नारायणगोपाल चोकमा झरिसके भनेर त्यो एजेन्टले भने,’ उनले भनिन्, ‘साँझ भइसक्यो, मेडिकल गर्न लाने भनेर मलाई काँ लान लागेको भनेर सोधेँ। उसले अब ढिला भयो आज यतै बसौँ भोलि मेडिकल गर्दा भेट भइहाल्छ, अनि सँगै फर्कौँला भन्यो।’
उनले ती व्यक्तिलाई गाउँ एउटै भए पनि चिनेकी थिइनन्। उनी एकोहोरो हुन थालिन्। यसबीचमा ती एजेन्टले सुनितालाई आफ्नो कोठामा लगिसकेका थिए। पाँच दिनसम्म त उनलाई कोठाबाट निस्कन पनि दिएनन्।
‘छैठौं दिन म बाहिर निस्किएँ। घरबेटीले याद गरेका रहेछन्। अनि तिमी त धनि जस्तो देखिन्छौ, यो छोरा मान्छे (एजेन्ट) त लफङ्गा हो कि, चेलीबेटी बेचबिखन गर्ने मान्छे हो कि जस्तो छ। कस्तो खालको मान्छेसँग बिहे गरेर आएको तिमी पो भने। त्यसपछि झन् मेरो मन पोल्यो’, अनुहार खुम्च्याउँदै उनले सुनाइन्।
उनलाई मेडिकल गर्ने बहानामा ती व्यक्तिले भगाएर ल्याएका रहेछन् भनेर बुझ्न उनलाई निकै समय लाग्यो। त्यसबेला प्रायजसो त उनी टोलाएरै बस्थिन्।
एकदिन त झुन्डेर मर्छु भनेर उनी बुढानीलकण्ठ नारायणथानमाथि सिमलको रुख चढिन् पनि। तर, सबैले उनलाई त्यहाँबाट निकाले। अनि उल्टै ती पुरुषसँगै मिलेर बस्न लगाए।
‘गाउँभरि म बेचिएँ भनेर हल्ला फैलिएछ’
उनलाई ती व्यक्तिसँग फिटिक्कै बस्न मन थिएन। बल्ल-बल्ल एउटा फोन नम्बर सम्झेर पसलको टेलिफोनमा लगाइन्। उनको काकाको छोराको नम्बर रहेछ। फोनमा कुरा गरेपछि उनी झन् झस्किइन्।
कारण थियो, ‘गाउँभरि सुनिता पनि चेलीबेटी बेचबिखनमा परिन्। उसलाई पनि बेचेछ’ भनेर फैलिएको हल्ला। काकाको छोराको यो कुरा सुनेपछि उनले आफ्नो सबै कुरा सुनाइन्। त्यसपछि ‘त्यसो भए त्यही केटासँग घर आउ’ भन्दै टीकाटालो गरेर पठाउने कुरा भयो। उनी झन् झसङ्ग भइन्।
‘छोरी मान्छेको जिन्दगी रात बित्यो कि अग्राख पलायो रे। अहिले जस्तो भए त के बिग्रेको छ, के भएको छ? भनेर बोल्न हुन्थ्यो होला। त्यसबेला सबै जनाले मिलेरै बस भने। जे जसो भएपनि ऊ सँगै बस, ऊ सँगै गाउँ आइज पो भने। दाजुभाइले मलाई बेच्न लग्यो भनेर नाकानाकामा फोटो पनि दिएछन्। त्यो सुनेपछि झन मेरो मन नै मर्यो। अनि मैले पनि ठिकै छ, म जिउँदैछु भनेर सोच्नु भन्दिएँ। त्यसपछि म गाउँ पनि गइँन’, एकै स्वरमा उनले भनिन्।
ती व्यक्तिले कोठा भाडा र रासन नै १८/१८ हजार तिर्न बाँकी रहेको उनले पछि थाहा पाइन्। उनले चटक्कै छोड्न पनि सकिनन्।
सुनितालाई ती व्यक्तिले गाउँमा हुँदा नै मन पराएका रहेछन्। सुनिताले त ‘एक तोला सुन दिन्छु, मलाई छोड्नु’सम्म भनेकी रहिछन्। त्यसकै दोस्रो हप्तातिर हो, उनले त्यसो भए यतै केही गर्छु भनेर यो होटल किनेको।
‘२०५६ साल पुष १० गते मैले यो होटल किनेको। केहि गर्नुपर्छ भन्ने मेरो जोश कम भइसकेको थिएन। त्यत्ति हो मन नलाग्दा नलाग्दा पनि त्यसलाई छोड्न सकिरहेको थिइँन,’ आक्रोशका साथ उनले भनिन्, ‘लोग्ने मान्छेसँग कुरा गरेर कहिल्यै पनि साध्य नहुने रहेछ। पछि त मैले न चाहँदा नचाहँदै एक सन्तान पनि भयो। मलाई कहिले पनि उ मेरो श्रीमान् हो भन्ने पनि लागेन।’
सुत्केरी समयमा पनि उनले त्यस्तै नराम्रो अनुभव भोग्नुपर्यो। एक्लै अस्पताल गएर सन्तानलाई जन्म दिएको र भोकै हुँदा थापाथली अस्पतालले दिएको खाना खानुपरेको उनले अहिलेसम्म बिर्सिसकेकी छैनन्। त्यही बेला हो, त्यस व्यक्तिप्रति उनको मन सधैँको लागि मरेको।
अहिले पनि थापाथली अस्पताल जाँदा उनलाई अघाएको महसुस हुन्छ रे।
‘...अनि श्रीमानलाई पिटेर छुट्टिएँ’
होटल किनेकै दिनदेखि उनी निकै खटेर काममा लागिन्। चिया, नास्ता, खाना बनाउने, भाडा माझ्ने सबै काम उनैले भ्याउँथिन्। त्यसबेला उनले यो होटल ६५ हजारमा किनेको रे।
‘कमायो, जमायो। सुन पनि धेरै जोडेँ। तर ६० सालमा मेरो कोठा चोरी भयो,’ निराश हुँदै उनले भनिन्।
उनले शंका गरेको व्यक्तिलाई समात्न नदिएपछि उनको श्रीमान पनि मिलेर चोरी भएको थियो कि भनेर अहिले पनि शंका लाग्ने गरेको उनी सुनाउँछिन्।
कोठा चोरी हुनुभन्दा चार दिनअघि भक्तपुरमा जग्गा किन्ने भनेर सात हजार बैनासमेत गरेकी रहिछन्। त्यसबेला १५ तोला सुन र ६ लाख रुपैयाँ चोरी भएको रहेछ।
‘त्यसबेला सुन तोलाको जम्मा ६ हजार त थियो। दिनको दुई हजारसम्म बचत हुन्थ्यो। अनि सुन नकिन्ने भन्ने नै भएन। छोराको अन्नप्राशन्नको समयमा उसको लागि पनि सिक्री र लकेट बनाइदिएको थिएँ। सबैले सुनको चम्चाबाट खाना खुवाउनुपर्छ भन्थे। त्यही भएर लकेट पनि राखेर त्यसैले खुवाउँला भनेर बनाएको। त्यो पनि चोरे’, उनले भनिन्।
घरमा तालमेल मिलिरहेको थिएन। होटलको व्यापार भने मज्जाले फस्टाइरहेको थियो। त्यही मौकामा श्रीमानलाई मलेसिया पठाइन्, एक लाख १८ हजार तिरेर। तर त्यतिबेला उनको श्रीमानको अर्कै श्रीमती भएको थाहा पाइन्।
अनि श्रीमानसँग अलग्गिइन्। तर, कागजी रुपमा छुट्टिन बाँकी नै थियो। त्यहीबेला उनको श्रीमान होटलमा आए। मनमुटाव हुँदा सुनिताले श्रीमानमाथि हात पनि फर्काइन्।
अनि कागजी रुपमै छोड्ने निधो गरिन्। धेरैले छोराको लागि अंश लिन सुझाव दिए पनि उनले लिइनन्। त्यही मौकामा आफूलाई ‘दन्त्य मोहनी’ लगाएको भनेर थाहा पाइन्। पाटन गएर मोहनी फर्काइन् पनि।
‘अन्धविश्वास नै भएपनि त्यसपछि देखि त मेरो दाँतबाट रगत आउन रोकियो। टोलाएर बस्न पनि छाडेँ’, उनले भनिन्।
छोरालाई हुर्काउनेदेखि पढाउनेसम्मको जिम्मेवारी उनले यही होटलको कारणले सहज बनाउन सकेकी हुन्।
ब्लड प्रेसरले हानेपछि उनले चुरोट पनि छाडिदिइन्। त्यसपछि भने झन् आत्मविश्वास बढेको महसुस गरेको उनी सुनाउँछिन्। अहिले पनि उनको गाउँमा ‘यस्तो चलाख छोरीलाई पनि कसरी फसाउन सकेछ’ भनेर कुरा हुन्छ रे।
पहिलाको जस्तो पैसा बचाउन नसके पनि खान, लाउन, छोरालाई पढाउन उनले आरामले कमाइरहेकी छिन्। अहिले खाना बाहेक अरू भने अर्डर अनुसार बनाउने गर्छिन्।
‘मैले जिन्दगीमा नराम्रो धोका पाएँ। त्यो धोका नपाएको भए सायद अहिले यति आत्मविश्वास पनि हुँदैन थियो कि जस्तो लाग्छ। अनि कहिले कहीँ चैँ मैले पनि कसैको साथ पाएको भए यो भन्दा सफल हुन्थेँ कि जस्तो लाग्छ’, उनले भनिन्।
४६ वसन्तमा रमाइरहेकी उनीसँग आफ्नो भन्दा पनि छोराको लागि धेरै योजना छ। छोराले आईटी पढिरहेका छन्। उनलाई मास्टर्स डिग्रीसम्म जसरी पनि पढाउने उनको इच्छा छ। छोराको लागि एउटा स्थिर बासको व्यवस्था समेत मिलाउन उनी लागिरहेकी छिन्।
चैत २६, २०८० सोमबार २२:१३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।