कोरोनामा बुवाको मृत्यु भएपछि आमाले फलफूल बेचेर हुर्काएको छोरो, छुरा प्रहारबाट नउठ्ने गरी ढले

कोरोनामा बुवाको मृत्यु भएपछि आमाले फलफूल बेचेर हुर्काएको छोरो, छुरा प्रहारबाट नउठ्ने गरी ढले

काठमाडौं : जनकपुरमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।

सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोकमा अन्दाजी २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार विश्वकर्मा चोकमा तीन/चार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ३ भटौलीया निवासी प्रिन्समाथि छुरा प्रहार भएको थियो।

गाउँको सम्पति बेचेर उनको परिवार जनकपुर बस्दै आएको थियो। बुवा जमाहिर लाल महासेठको कोरोना कालमा मृत्युपश्चात आमाले फलफूल व्यवसाय गरी बालबच्चाको पालन पोषण गर्दै आएकी थिइन।

छुरा प्रहारबाट गम्भीर घाइते प्रिन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए। त्यसपछि प्रिन्सलाई स्थानीयले  उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जनकपुरको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेकाे अर्जुन साहलाई अनुसन्धानको लागि पक्राउ गरिएको हाे।

मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

२६ चैत, २०८०, २०:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।