नाउपामा श्रीमान्-श्रीमती झगडाको प्रभाव : प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त

नाउपामा श्रीमान्-श्रीमती झगडाको प्रभाव : प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य बनेकी इन्दिरा गिरी पदमुक्त भएकी छन्।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गर्न सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्राचार गरेकी थिइन्। त्यही पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीको तोक आदेशबमोजिम प्रदेशसभा सचिवालयले गिरी पदमुक्त भएको सूचना निकालेको छ। 

'...सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' सचिवालयले निकालेको सूचनामा भनिएको छ। 

नाउपाभित्र पछिल्लो केहि समययता केन्द्रीय सत्ता गठबन्धनमा जाने वा नजाने भन्ने बारेमा अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबीच मतभेद छ। सोही विवादका कारण गिरीले पद गुमाएकी हुन्।

गिरी कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री थिइन्। पार्टीका विभिन्न बैठकहरूमा संरक्षक चौधरी पक्षमा प्रस्तुत भएकी गिरीको त्यही कारण पद गएको हो।

सुदूरपश्चिममा चौधरी पक्ष कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छ। 

तर, एमाले–माओवादी गठबन्धनको पक्षमा रहेकी अध्यक्ष श्रेष्ठले सरकारबाट फिर्ता हुन गिरीलाई निर्देशन दिइन्। आफ्नो निर्देशन पालना नगरेको भन्दै उनले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी थिइन्।

२६ चैत, २०८०, १७:००:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।