‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ गीतमा बनाइएको त्यो भिडियोदेखि, यो जाहेरीसम्म

‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ गीतमा बनाइएको त्यो भिडियोदेखि, यो जाहेरीसम्म

काठमाडौं : एमालेका नेता, पूर्वमन्त्री महेश बस्नेत पछिल्लो समय धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभासँग सम्बन्धमा रहेको चर्चा सामाजिक संजालमा व्याप्त थियो। एमालेमै क्रियाशील महिला नेतृ शोभा र महेशबीच जोडिएका तस्बिरहरू सार्वजनिक भएका थिए।

त्यस्तै, केही महिनाअघि महेश जस्तै देखिने एक पुरुष र महिला एउटा होटल वा अपार्टमेन्ट जस्तोको कोठाको बेडमा श्रीमान् श्रीमतीजस्तो देखिने गरी बनाएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ भन्ने गीतमा बनाइएको भिडियो क्लिप्सबारे प्रशस्त प्रतिक्रियाहरू आएका थिए। 

ती महिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गरी ‘कुमारी’रहेको अर्थात् अविवाहित भएको प्रमाणपत्र बनाएको समाचारहरु सार्वजनिक भएका थिए। 

त्यसलगत्तै महेशले आफूलाई बदनाम गराउन यस्तो भिडियो सार्वजनिक गरिएको प्रतिक्रिया दिए। फोटो र भिडियोका विषयमा युवा संघका कार्यकर्ताहरूले अहिलेसम्म बस्नेतको बचाउ गर्दै आएका छन्। 

भाइरल भिडियो र फोटोका कारण बस्नेतको राजनीतिक करियरमै असर गर्ने अनुमान गरिँदै आएको छ। 

हुन त बस्नेतविरुद्ध पटक पटक उजुरी पर्ने गरेको भएपनि युवतीसँग अन्तरंग सम्बन्धका खबरहरू सार्वजनिक भएका थिएनन्। शोभाले भने सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै बस्नेतसँग पाँच बर्षदेखि सम्बन्धमा रहेको बताएकी थिइन्। 

त्यतिमात्र होइन बस्नेत र शोभाबीच अश्लील टेलिफोन कुराकानी भएको अडियो नै सामाजिक संजालमा भाइरल बनाइएको थियो।

शोभासँगको सम्बन्ध सेलाउन नपाउँदै आइतबार बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएपछि उनको ‘राजनीतिक करियर’ माथि नै धक्का लाग्ने देखिएको छ। मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको र कानुनी प्रक्रिया अघि बढेको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले पुस्टि गरिसकेका छन्।

हुलाकमार्फत जाहेरी दिने युवतीले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको खत्रीले आइतबार नै बताएका थिए। जाहेरी कसले दिएको भन्नेबारे प्रहरीले खुलाएको छैन। 

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन्। पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौं महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ। औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन्। 

मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ।

जाहेरीमा बलात्कार र भ्रूण हत्या मात्र उल्लेख नभइ महिलाले बस्नेतविरुद्ध डाँका चोरीको पनि आरोप लगाएकी छन्। गत फागुन ८ गते बिजुली बजारस्थित अपार्टमेन्टमा छिरेर डाँका चोरी गरेको आरोप पनि उनले लगाएकी छन्।

ती महिलाका अनुसार बस्नेतले आफू पनि आएको भन्दै झुक्याएर दुई जना युवालाई अपार्टमेन्टमा छिराएर कुटपिटसमेत गर्न लगाएका थिए। त्यसपछि आफ्नो साथका दुइवटा मोबाइल र अन्य विद्युतीय सामान लगेको दाबी उनले गरेकी छन्। 

जाहेरीपछि नेता बस्नेतको कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।

अधिवक्ता रामचन्द्र पौडेल (आरसी बिमल) बलात्कार र भ्रूण हत्याको विषय फरक भएकाले प्रमाण पुगेको अवस्थामा फरक फरक कारवाही हुने बताउँछन्।

‘फौजदारी अपराध संहिता दफा १८८ ले गर्भपतन गर्न नहुने भन्छ। कसैले गर्भवती महिलालाई करकापमा पारी वा धम्की दिइ वा ललाइफकाइ वा प्रभावमा पारी गर्भपतन गर्न नहुने भन्छ। त्यस्तै १२ हप्तासम्मको गर्भ भइ पतन गराए एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना, त्यस्तै १२ हप्ता माथि २५ हप्तासम्मको गर्भ रही पतन गराए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ,’ अधिवक्ता पौडेलले भने। 

कानुन बमोजिमका हकमा भने फरक कानुनी व्यवस्था रहेको, महिला आफूखुसी गराएको खण्डमा आफ्नै कानुनी व्यवस्था रहेको उनले बताए। 

मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८(ग) मा १२ सातासम्मको गर्भ भए एक बर्ष, २५ साताको तीन वर्ष र त्यसभन्दा माथिको गर्भपतन गर्नेलाई पाँच वर्षसम्म कैद व्यवस्था छ। यस्तै, गर्भपतन गर्ने गराउने उद्देश्यले भ्रूण लिंग पहिचान गर्ने गराउने दुवैलाई ३ देखि ६ महिनासम्म कैद, लिंगका आधारमा गर्भपतन गर्ने गराउनेलाई हुने सजायमा थप एक वर्ष कैदको व्यवस्था रहेको पाइन्छ।

चैत २६, २०८० सोमबार १५:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।