ईपीएल : युनाइटेड र लिभरपुल तथा चेल्सी र सेफल्डले बराबरी खेले, नोटममाथि टोटनहमको जित
काठमाडौं : इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यान्चेस्टार युनाइटेड र लिभरपुल तथा चेल्सी र सेफल्ड युनाइटेडले बराबरी खेल्दा टोटनहमले नोटम फरेस्टमाथि जित निकालेको छ।
आइतबार साँझ भएको खेलमा युनाइटेडका लागि खेलको ५०औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दा ६७औं मिनेटमा कोब्बी मेनुले गोल गरेका थिए।
लिभरपुलका लागि भने खेलको २३औं मिनेटमा लुइस डियाज र ८४औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गरे।
२-२ गोलको बराबरीसँगै युनाइटेड ३१ खेलमा ४९ अंकसहित छैटौं स्थानमा हुँदा लिभरपुल समान खेलमा ७१ अंकसहित दोस्रो स्थानमा छ।
उता चेल्सी र सेफल्डको खेलमा चेल्सीका लागि ठियागो डी सिल्भाले ११औं मिनेटमा गोल गर्दा नोनी मादुकेले ६६औं मिनेटमा गोल गरे।
सेफल्डका लागि जेडेन बोग्लेले ३२औं मिनेटमा गोल गर्दा अन्तिम गोल इन्जुरी समयको तेस्रो मिनेटमा ओली म्याकबर्नीले गरे।
२-२ गोलको बराबरीसँगै अंकतालिकामा चेल्सी नवौं स्थानमा हुँदा सेफल्ड बीसौं स्थानमा छ।
हिजै भएको अर्को खेलमा टोटनहमले नोटममाथि ३-१ गोलको जित निकाल्यो। खेलको १५औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको टोटनहममाथि नोटम फरेस्टले २७औं मिनेटमा बराबरी गोल गर्यो।
मुरिल्लोले १५औं मिनेटमा टोटनहमको लागि आत्मघाती गोल गर्दा २७औं मिनेटमा क्रिस उडले १-१को बराबरीमा ल्याए। त्यसपछि खेलको ५२औं मिनेटमा मिकी भान दे भेन र ५८औं मिनेटमा पेड्रो पोर्रोले गोल गर्दै टोटनहमको जित निश्चित गरे।
जितसँगै टोटनहम चौथो स्थानमा हुँदा हारेको नोटम १७औं स्थानमा छ।
चैत २६, २०८० सोमबार ०७:५२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।