एनआईसी एसिया बैंकले चैत मसान्तसम्म कर्जा तिर्ने ग्राहकलाई छुट दिने

एनआईसी एसिया बैंकले चैत मसान्तसम्म कर्जा तिर्ने ग्राहकलाई छुट दिने

काठमाडौं : एनआईसी एसिया बैंकले खराब कर्जामा वर्गीकरण भएका ऋणीहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ।

आर्थिक शिथिलताका कारण बैंकको कर्जा लिने ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउन २०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जामा वर्गीकरण भएकाहरूलाई यो योजना ल्याएको जनाएको छ। 

निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा चुक्ता गरेमा चैतसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा बैंकले सतप्रतिशत छुट दिने भएको हो।

त्यस्तै, ब्याज रकममा समेत कर्जाको वर्गीकरणअनुसार छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार कमशल कर्जाको हकमा १० प्रतिशत, शंकास्पद कर्जाको हकमा १५ प्रतिशत र खराबको हकमा २० प्रतिशत छुट दिने छ। 

अर्थतन्त्रमा परेको दबाबलाई ध्यानमा राखेर बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको भन्दै यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म मद्धत पुग्ने बैंकले अपेक्षा गरेको छ ।

एनआईसी एसिया बैंकले ३६० शाखा कार्यालय, ६७० एटीएम, ११७ वटा विस्तारित काउन्टर र ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ। 

चैत २५, २०८० आइतबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।