सांग्रीला मोरङलाई २–० गोलले हराउँदै मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि
काठमाडौं : आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ।
विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो।
विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे। उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन्।
निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो।
अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर बिशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरी टिमलाई अग्रता दिलाए।
युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन्। त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाए।
मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो।
सांग्रीलाका महेन्द्र कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले मोटरसाइकल प्राप्त गरे।
मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक तथा मच्छिन्द्रकै स्टेफन सर्वाधिक गोलकर्ता रहे। उनीहरूले जनही २१ हजार रुपैयाँ प्राप्त गरे।
फाइनलको प्येलयर अफ दी म्याच भएका मछिन्द्रका लकेन लिम्बुले ११ हजार रुपैयाँ प्राप्त गरे।
उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
चैत २५, २०८० आइतबार ०७:४२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।