रास्वपा लक्षित सिंहको टिप्पणी : 'भर्खर आएका छन्, ठूल्ठूला कुरा गर्छन्, ठूल्ठूला काण्डमा फसेका छन्'

रास्वपा लक्षित सिंहको टिप्पणी : 'भर्खर आएका छन्, ठूल्ठूला कुरा गर्छन्, ठूल्ठूला काण्डमा फसेका छन्'

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पुरानो दलको विरोध गर्दै नयाँको नाममा मुलुकमा ताण्डव नृत्य देखाइरहेको बताएका छन्। 

सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उनले रास्वपा नेताहरू ठूल्ठूला काण्डमा फसेको आरोप लगाए। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरूले नै सुशासनको ठूल्ठूला कुरा गर्ने गरेको भन्दै व्यंग्य गरे। 

‘बन्ने, बनाउने एउटा पार्टी, बनिसकेपछि यहाँ ताण्डव नृत्य गर्नेहरू थुप्रै आइरहेका छन्। तर तपाईं हामी सबैले एउटा के कुरा बुझ्नुपर्यो भने हामी पार्टीको क्षेत्रीय सम्मेलनमा उपस्थित भएका छौं,’ उनले भने, ‘नेपाली कांग्रेस अरु पार्टीहरू जस्तो होइन। नेपालमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापना गर्नका लागि र प्रजातान्त्रिक पद्धति अनुसार यो देशमा सुशासन गरेर देशलाई अघि बढाउनुपर्छ।’ 

उनले भर्खर आएका पार्टीका नेताहरु थुप्रै काण्डमा फसेको समेत बताए।  

उनले भने, ‘भर्खर आएका छन्। ठूल्ठूला कुरा गर्छन्। आफूले गर्नुपर्ने जिम्मेवारी केही पनि नगर्ने, अनि ठूलो दलले काम गरेन भनेर सुख पाइन्छ? भर्खर आएका पार्टीहरू ठूल्ठूला सुशासनका कुरा गर्छन्। सुशासनका कुरा गर्ने नेताहरु कुन-कुन काण्डमा फसिरहेका छन भन्ने कुरा चाहिँ सबैले देखिरहेका छन्।’

२४ चैत, २०८०, २२:०३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।