जुम्ला पुगेर पूर्वराजा ज्ञानेन्द्रले सोधे- 'देश कता जाँदैछ?'

जुम्ला पुगेर पूर्वराजा ज्ञानेन्द्रले सोधे- 'देश कता जाँदैछ?'

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अपार सम्पदा हुँदाहुँदै पनि नेपाली समुदाय परनिर्भरता तिर गइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्।  

शनिबार जुम्लाको खलंगामा आयोजित एक कार्यक्रममा उनले राष्ट्रको पुरानो गौरव फर्काउनका निम्ति जुट्न सबै नेपाली समुदायमा आह्वान गरे।

'देश कता जाँदैछ, तपाईँहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौ। आफ्नै भूगर्भमित्र अथाह धनधान्य छ। तर, खानका लागि काम खोज्न हामी भौँतारिराखेका छौँ,' उनले भने, 'कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन?' 

आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर खस्नुपर्ने उनको भनाइ छ।

उनले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउनुपर्ने भन्दै देश बनाउन सबै अग्रसर हुनुपर्नेमा जोड दिए।

उनले सर्वपक्षीय सम्मेलन, सम्झौतामार्फत नयाँ निष्कर्ष निकाल्नुपर्ने भन्ने जनमत बढ्दै गएको आफ्नो अनुभव रहेको बताए।

'अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,' उनले भने।

चैत २४, २०८० शनिबार १७:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।