सुनसरीमा कर्फ्यु हटाउने : छानबिन समिति गठन गर्ने र घाइतेलाई निःशुल्क उपचार गर्ने सर्वदलीय बैठकको निर्णय

सुनसरीमा कर्फ्यु हटाउने : छानबिन समिति गठन गर्ने र घाइतेलाई निःशुल्क उपचार गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं : सुनसरीको भुटाहास्थित दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यु हटाउने निर्णय भएको छ। 

शनिबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले सुरक्षाको अवस्थाको विश्लेषण गरी बिस्तारै कर्फ्यु खुकुलो बनाउँदै जाने सहितका छ बुँदे निर्णय गरेको हो। 

सम्बन्धित क्षेत्रका पालिका प्रमुख, प्रदेशसभा सदस्य तथा विभिन्न धार्मिक र जातीय संस्थाका अगुवाहरूको उपस्थितिमा गरिएको निर्णय अनुसार अहिलेसम्म सबै पक्षबाट गरिदैं आएका कार्यक्रमहरू फिर्ता लिने, धार्मिक सद्भावका लागी अपिल सहित र्याली निकाल्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ।

 त्यस्तै, आन्दोलनका क्रममा भएका घाइतेको निःशुल्क उपचार गर्ने, घटनाको छानबिन गर्न समिति गठन गर्ने सर्वदलीय र सर्वपक्षीय बैठकले निर्णय गरेको छ।

बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को क्रममा हरिनगर गाउँपालिका-१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद बढेको थियो।

शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो।

स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका छन्।

 

चैत २४, २०८० शनिबार १५:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।