डा. विनोदको उपचार अनुभव : मृत्युको मुखमा पुगेकी महिलाको गर्भबाट बच्चा निकाल्यौँ, तर सिलाउन नपाउँदै महाभूकम्प गयो
डा. विनोद दंगाल मेडिकल जनरलिष्ट (एमडीजिपी) चिकित्सक हुन्। समग्र रोगको औषधि, उपचार गर्नु यो विषय अध्ययन गरेका उनको दैनिकी हो।
उनै डा. विनोद दोलखाको गौरीशंकर जनरल अस्पतालमा काम गर्दाको एउटा घटना कहिल्यै भुल्दैनन्। घटना सम्झँदा अहिले पनि उनको आङ सिरिङ्ग हुन्छ। घटना २०७२ वैशाख १२ गतेको हो। उनी गौरीशंकर जनरल अस्पतालमा काम गर्न पुगेको करिब ६ महिना मात्रै भएको थियो।
प्रसव व्यथाले छटपटाएकी करिब २३ वर्षकी गर्भवती महिलालाई अस्पताल ल्याइयो। ती महिलाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने अवस्था थियो। शल्यक्रियाको सबै तयारीपछि अस्पतालको दोस्रो तलामा रहेको अप्रेशन थिएटरमा डा. विनोदको टिमले गर्भको बच्चा निकाल्ने प्रक्रिया थाल्यो।
शल्यक्रिया गरी बच्चा निकालेको मात्रै के थियो, गर्भवती महिलालाई दिइएको अक्सिजनको सिलिन्डर बेस्सरी हल्लियो। सुरुमा त डा. विनोद लगायत शल्यक्रियामा खटिएको चिकित्सकको टिमलाई ‘अक्सिजनको सिलिन्डर नै हल्लाउने कत्रो ठूलो गाडी आएछ’ भन्ने लाग्यो।
तर, हेर्दा-हेर्दै अक्सिजनको सिलिन्डर नै ढल्यो। त्यसपछि बल्ल भूकम्प गएको थाहा भयो। ती महिलाको शल्यक्रिया गरी बच्चा निकाल्न काटिएको भाग सिलाउनै बाँकी भएकाले भाग्ने अवस्था भएन। अरु कर्मचारी त भागिहाले।
तर, उनी र एनेस्थेसियोलोजिष्ट चिकित्सक भने ती महिला र शल्यक्रिया गरी निकालेको बच्चालाई समाएर अप्रेशन थिएटरमै बसे। उनीहरूलाई पनि ज्यानको माया नभएको हैन। तर, डरले असिनपसिन भएको अवस्थामा पनि उनीहरूले चिकित्सकीय धर्म छाडेनन्।
केही बेरमा भूकम्प रोकियो। भूकम्प रोखिएपछि भने कत्ति पनि ढिला नगरी ती महिलाको बच्चा निकाल्नका लागि काटेको भाग सिलाएर डा. विनोद र एनेस्थेसियोलोजिष्ट चिकित्सकले ती महिला र बच्चालाई अस्पतालको भवन बाहिर निकालेर राखे। बाहिर निस्कँदा अवस्था काहालीलाग्दो थियो। ती आमा र बच्चालाई अस्पताल बाहिर टेन्टको व्यवस्था गरेर सुरक्षित राखियो। ती महिला बाँचेर बच्चा च्यापेर घर फर्किइन्।
भाग्य नै भन्नुपर्छ। शल्यक्रिया गरिरहँदा १२ गते त्यो दिन नभत्किएको त्यो भवन वैशाख २९ गते गएको भूकम्पमा ध्वस्त भयो। भूकम्पको समयमा ज्यानै जोखिममा राखेर ती गर्भवति महिला र उनका ती बच्चालाई बचाउन सफल भएको त्यो क्षण सम्झँदा अझै डा. विनोदको मन एकातर्फ आनन्दित हुन्छ।
अर्कोतर्फ भूकम्पको त्यो जोखिममा भवनभित्र आफू रहेको अनि अर्को पटक भूकम्प जाँदा त्यो भवन भत्किएको सम्झँदा उनको आङ सिरिङ्ग हुन्छ।
हृद्यघात भएकी ती महिलालाई बचाएको क्षण
प्रसङ्ग करिब दुई वर्षअघिको हो। करिब ५० वर्षकी महिलालाई दोलखाको चरिकोट अस्पतालमा पुर्याइयो। बेस्सरी छाती दुखेकी ती महिलाको स्वास्थ्य परीक्षण गर्दा हृद्यघातको लक्षण शुरू भएको पाँच घण्टा भइसकेको रहेछ।
केही बेर उपचारमा ढिला भए ज्यानै जाने करिब निश्चित थियो। अस्पताल पुर्याउँदा ती हृद्यघात भएकी महिला अर्धचेत अवस्थामा थिइन्। चिकित्सकको टिमले सीपीआर गर्ने लगायतका अन्य उपचार विधि तुरुन्तै थाल्यो। तर, ती महिलालाई दोलखामा उपचार सम्भव भएन।
उनलाई काठमाडौं रिफर गर्नुपर्ने भयो। बिरामीका आफन्तसँग सल्लाह गरेर हेलिकप्टर मगाइयो। डा. विनोदको टिमले काठमाडौंको सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि ल्याउने विषयमा समन्वय गर्यो। डा. विनोद पनि ती महिलाको श्वासप्रश्वास सहज बनाइदिँदै हेलिकप्टरमा आए।
काठमाडौंमा हेलिकप्टर ल्याण्ड गर्यो। तुरुन्तै गंगालालमा पुर्याएर ति महिलाको एन्जिओप्लाष्टि गरियो। महिलाको ज्यान बाँच्यो। डा. विनोद त्यहि दिन आफ्नो कर्मस्थलमा फर्किए। केही दिनको अस्पताल बसाइपछि ती महिला डिस्चार्ज भइन्। अहिले पनि ती महिला बेला-बेलामा फलोअपमा खुसी हुँदै आउने गरेको उनले सुनाए।
बुवाको मृत्युको खोजिमा डाक्टरी अध्ययन
विनोद दंगाल मेडिकल जनरलिष्ट (एमडीजिपी) चिकित्सक हुन्। जनस्वास्थ्य विषयमा स्नातकोत्तर समेत गरेका उनले चिकित्सकीय विषय अध्ययन गर्नुको एउटा खास कारण रहेछ।
सिन्धुपाल्चोकको तत्कालिन सानो सिरुबारीमा गाविस वडा नं.-६ मा २०४१ मा जन्मिएका विनोदले लामो समय बुवासँग रमाउने सौभाग्य पाएनन्।
विनोद नौ वर्षको हुँदा उनका बुवा ३७ वर्षको अल्पायुमा संसार छाडेर गए। विनोद, उनकी दिदि र भाइ कलिलै हुँदा बुवा वितेपछि तीन सन्तानको सम्पूर्ण हेरचाहको जिम्मेवारी उनकी आमाको काँधमा आइपर्यो।
सामान्य खेतीकिसानी परिवारमा जन्मिएका उनी पढाइमा तीक्ष्ण थिए। निक्कै दुःखमा हुर्किँदै विनोदले स्थानीय ‘श्री ज्ञान मन्दिर नमुना मावि’मा आठ कक्षासम्म पढे। त्यो विद्यालयमा ‘भोलेन्टियर टिचर’का रूपमा पढाउन करिब १९ वर्षकी टेरेजा निकोले नाम गरेकी बेलायती युवती पुगेकी थिइन्।
ती बेलायती शिक्षिकाले विनोदको पारिवारिक तथा आर्थिक अवस्थाका बारेमा बुझिन्। ति बेलायती शिक्षिकालाई लागेछ, ‘यो केटाले पढ्ने वातावरण पायो भने राम्रो प्रगति गर्नसक्छ।’
नभन्दै ती बेलायती शिक्षिकाले अध्ययनका लागि आर्थिक सहयोग गर्दै काठमाडौंको पानीपोखरिस्थित भानुभक्त मेमोरियल माविमा आठ कक्षामा भर्ना गरिदिइन्। विनोदले त्यो विद्यालयबाट २०५८ मा एसएलसी गरे। त्यसपछि निष्ट कलेजबाट उनले प्लस टु गरे।
के कारणले बुवाको अल्पायुमा नै मृत्यु भयो भन्ने विषयको खोजीमा उनलाई बेला-बेलामा छटपटाहट हुन्थ्यो।
‘बुवाको मृत्यु कसरी भयो होला भनेर मलाई छटपटी हुन्थ्यो’,उनले सुनाए।
बुवाको मृत्युको उत्तरको खोजीमा नै विनोदले डाक्टरी विषय पढ्ने विचार गरे। नभन्दै विनोदले चीनको ‘त्रि गर्जेज युनिभर्सिटी’मा प्रादेशिक छात्रवृति कोटामा एमबीबीएस अध्ययन गर्ने मौका पाए।
उनी सन् २००४ मा त्यहाँ भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। त्यसो त उनी समय मिलाएर चीनियाँहरूलाई अंगेजी भाषा पढाउँथे। जसबाट केही खर्चको समेत उनी जोहो गर्थे।
‘दुई घण्टा ब्रेक टाइममा चिनियाँहरूलाई अंग्रेजी पठाउथेँ, त्यो अंग्रेजी पठाएको पैसाले खानबस्न पुग्यो’, उनले सुनाए।
सन् २००९ मा विनोद एमबीबीएस अध्ययन सकेर नेपाल फर्किए उनी। उनले चीनमा छात्रवृत्ति कोटामा अध्ययन गरेनन् मात्रै, एमबीबीएसको त्यो ब्याचको सर्वोत्कृष्ट मध्येको पुरस्कार समेत पाए।
नेपाल फर्किएपछि विनोदले काठमाडौं मोडल अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे। इन्टर्नसिपकै क्रममा उनी दोलखाको तत्कालीन गौरीशंकर जेनरल अस्पतालमा पोष्टिङ भएर करिब तीन महिना काम गर्न पुगे। त्यो काठमाडौं मोडल अस्पताल अन्तर्गतकै अस्पताल थियो।
दोलखामा काम गर्दा उनले दुर्गममा विशेषज्ञ चिकित्सक नहुने अनि बिरामीलाई रेफर गर्दा ज्यान नै जोखिममा पर्ने नजिकबाट देखे। त्यहाँ उनले काम गर्दा लाग्यो, ‘एकै जना चिकित्सकले धेरै चिकित्सकीय विषयको ज्ञान सिके धेरै जना दुर्गमका मान्छेको ज्यान बचाउन सकिने रहेछ।’
तीन महिनाका लागि दोलखा पुगेका उनले त्यहाँ एक वर्ष काम गरे। त्यसपछि थप अध्ययनको तयारी गरे।
छनोटमा सबै रोगको उपचार, हातमा गोल्ड मेडल
धेरै चिकित्सकीय विषयको ज्ञान पाउने विषयमा थप अध्ययनको खोजी गर्दै जाँदा उनले मेडिकल जनरलिष्ट (एमडीजिपी) विषय पाए।
त्यसैले डा. विनोदले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको जनरल प्राक्टिस (जिपी) विषयमा सन् २०११ मा एमडी अध्ययन गर्न थाले। जुन विषयको अध्ययनलाई ‘जनरल प्राक्टिस तथा इमर्जेन्सि मेडिसिन’ पनि भनिन्छ।
सन् २०१४ मा उनले यो विषयको अध्ययन सके। विनोद एमडीजिपी अध्ययनको त्यो ब्याचमा पनि सर्वोत्कृष्ट समेत भए।
एमडीजिपी सबै किसिमको रोगको उपचार गर्ने चिकित्सकीय विषय हो। यो विषय अध्ययन गरेका विशेषज्ञ चिकित्सकले सुरुमा सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि उपचार गर्नुपर्ने हुन्छ।
त्यसपछि थप विशेषज्ञता आवश्यक परेको खण्डमा आवश्यकता अनुसारको विशेषज्ञ चिकित्सककहाँ बिरामी रिफर गर्नु एमडीजिपी अध्ययन गरेका चिकित्सकको दैनिकी हो।
पढ्ने सोच बनाएकै अस्पतालमा पढेपछि काम
एमडीजिपी अध्ययन सक्नासाथ डा. विनोद थप चिकित्सकीय ज्ञान तथा सिपको लागि भारतको नयाँ दिल्लीमा पुगे। भारतमा उनले भिडियो एक्स-रे गर्ने, इन्डोस्कोपी र मुटुको परीक्षण ‘इको’ गर्नेजस्ता ज्ञान तथा सिप सिकेर नेपाल फर्के।
नेपाल फर्केपछि डा. विनोदले अन्त काम गर्ने नै सोचेनन्। एमडीजिपी र भारतमा करिब एक वर्ष थप चिकित्सकीय ज्ञान तथा सिप सिकेर नेपाल फर्केपछि डा. विनोद दोलखाको गौरीशंकर जनरल अस्पतालमा नै काम गर्न पुगे।
जुन अस्पतालमा उनले एमबीबीएसपछि इन्टर्नसिप गरिरहँदा ‘एमडीजिपी पढियो भने दुर्गममा धेरै बिरामीको ज्यान बचाउन सकिने रहेछ’ भन्ने निष्कर्षमा पुगेका थिए। उनी एमडीजिपी अध्ययन गरेपछि त्यही अस्पतालमा पुगे। गौरीशंकर जनरल अस्पतालमा डा. विनोदले करिब एक वर्ष काम गरे।
भूकम्पछि चरिकोट अस्पतालमा पाँच वर्ष काम, सम्मानै सम्मान
भूकम्पपछि एक अमेरिकन न्याय हेल्थ नाम गरेको संस्था दोलखामा पुगेको उनले सुनाए। त्यो अमेरिकन संस्थाले सरकारसँग समन्वय गरी पब्लिक-प्राइभेट अवधारणाका रूपमा दोलखाको चरिकोट अस्पतालमा आर्थिक सहयोग गर्ने गरी काम गर्न थाल्यो। त्यहि संस्थाको जागिरेका रूपमा भूकम्प गएको केही महिनापछि डा. विनोद हालको चरिकोटस्थित प्रादेशिक चरिकोट अस्पतालको मेडिकल डाइरेक्टर बने।
त्यो बेला त्यहाँ त्यो संस्थाको उदेश्य भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क रुपमा स्वास्थ्य सेवा दिने रहेको उनले सुनाए। त्यहाँ बसेर उनले स्वास्थ्यको विभिन्न विषयमा काम गर्ने मौका पाए। चरीकोट अस्पतालमा काम गर्दा नै न्याय हेल्थ संस्थामार्फत नै डा. विनोदले अमेरिकाको हार्डवर्ट युनिभर्सिटीमा ग्लोबल हेल्थ, बेलायतमा ट्रमा र बालबालिको शल्यक्रियासम्बन्धी ज्ञान तथा सिप सिक्ने मौका पाए।
त्यसैगरी भारतमा सुगरको विषयमा ज्ञान तथा सिप सिक्ने मौका समेत पाए। उनले नेपाल सरकारको कार्यक्रममार्फ दिने विभिन्न तालिम समेत लिने र दिने मौका पाए। चरिकोट अस्पतालमा काम गर्दा नै स्वास्थ्य सेवा विभागको समन्वयमा आधारभूत स्वास्थ्य सेवाको विषयमा गाइडलाइन बनाउनले जस्ता काममा आफूले सक्रिय भूमिका खेलेको उनले अनुभव सुनाए।
त्यसो त उनले दोलखामा आफू कोरोना संक्रमित भएकै बेला समेत सात जना कोरोना संक्रमित भएका बिरामीको शल्यक्रिया समेत गरेको अनुभव सुनाए। डा. विनोदले चरिकोट अस्पतालमा राम्रो काम गरेवापत राष्ट्रपति र प्रधानमन्त्रीबाट सम्मान पाउनुका साथै अन्य विभिन्न सम्मान पाए। त्यतिमात्रै हैन उनले एसिया अवार्ड समेत पाए।
तर, सन् २०२० को सुरुवाततिरै कोरोना भाइरस संक्रमण सुरु भएपछि त्यो अमेरिकन संस्था न्याय हेल्थ पैसाको अभाव भएको भन्दै चरिकोट अस्पतालबाट हात झिक्यो। त्यो संस्थाले हात झिकेपछि दोलखाको भीमेश्वर नगरपालिकाले नै तलव सुविधा दिएर डा. विनोदलाई चरिकोट अस्पतालमा नै प्रमुखका रूपमा जिम्मेवारी दियो।
संस्थाको जागिरे भएर तीन वर्ष अनि नगरपालिकाको करारको कर्मचारी भएर दुई वर्ष गरी करिब पाँच वर्ष विनोदले चरिकोट अस्पतालमा काम गरे। त्यसपछि उनले सन् २०२२ मा करिब अढाई वर्षअघि चरिकोट अस्पतालको जागिर छोडे।
चरिकोट अस्पताल छोडेपछि डा. विनोद दोलखाकै एक निजी छ्योरोल्पा जेनेरल अस्पतालमा काम गर्न थाले। हाल उनी छ्योरोल्पा जेनेरल अस्पतालमा प्रमुखको जिम्मेवारीमा कार्यरत छन्।
बुवाको मृत्युको कारण पत्ता लागेन, ज्यान बचाउने काममा सक्रिय
तर, डा. विनोदले डाक्टरी नै विषय अध्ययन गरेपनि बुवाको मृत्युको कारण पत्ता लगाउन त सकेनन्। मृत्यु शास्वत सत्य हो भन्ने विषयलाई उनले बुझेका छन्। तर, मृत्युको मुखमा पुगेका धेरै व्यक्तिको ज्यान बचाउन भने डा. विनोद सफल भएका छन्। त्यसैमा उनी सन्तुष्ट छन्।
डा. विनोदकी श्रीमती काठमाडौंको वीर अस्पतालमा सर्जनका रूपमा कार्यरत छन्। उनीहरूका एक छोरा र एक छोरी छन्। विभिन्न ठाउँमा स्वास्थ्य शिविरमा गएर बिरामीलाई औषधि उपचार गर्नु त छँदैछ। उनी विभिन्न सामाजिक काममा समेत सक्रिय छन्।
त्यसो त जिल्लामा ब्लड बैंक नभएकाले शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि रक्त समूह मिलेको खण्डमा आफ्नै रगत दिएर समेत बिरामीको शल्यक्रिया गर्ने गरेको उनले सुनाए।
शल्यक्रिया गर्नुपर्ने बिरामीलाई एनेस्थेसिया दिई बेहोस बनाएर शल्यक्रिया गरी ब्यूँत्याउने ज्ञान तथा सिप पनि छ, उनीसँग। यि काम पनि गर्छन्, डा. विनोद।
जिल्ला र गाउँ-गाउँमा व्यक्तिको ज्यान बचाउनका लागि तत्कालै विशेषगरी एमडीजिपी अध्ययन गरेका चिकित्सकलाई खटाउनुपर्ने उनको अनुभव छ।
चैत २४, २०८० शनिबार १२:१४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।