गायिका सरु गौतमका प्रिय दश सुर : पहिलो गीत नै नरेन्द्र प्यासीसँग गाएँ, स्टुडियो छिर्दा आकाशले थिचेजस्तै भयो

गायिका सरु गौतमका प्रिय दश सुर : पहिलो गीत नै नरेन्द्र प्यासीसँग गाएँ, स्टुडियो छिर्दा आकाशले थिचेजस्तै भयो

नेपाली सांगीतिक क्षेत्रमा नचिन्ने मान्छे कमै होलान्। अनुहारले नचिने पनि उनले स्वर भरेका गीतहरू अधिकांशले सुनेको पक्कै छन्। ‘जाउँ न माया भागेर’, ‘चम्चा पिलेट’ लगायत गौतमका थुप्रै गीत चर्चित भए।

नेपाली सांगीतिक क्षेत्रमा डेढ दशक बिताइसकेकी उनी आफूलाई २०६२/०६३को जनआन्दोलनले जन्माएको गायिका भन्न रुचाउँछिन्। सानैदेखि नाच्न र अभिनय गर्न रुचि लाग्ने उनलाई त्यहि आन्दोलनका क्रममा गीत गाइन्। सबैले रुचाए पनि अनि यसैलाई करिअर बनाउ सुझाए। उनले पनि त्यो सुझावलाई सहजै ग्रहण गरिन्।

आफ्नो मात्र नभएर सरु अरुका गीत पनि उत्तिकै सुन्छिन्। उनलाई सबैभन्दा मनपर्ने तारादेवी, नारायण गोपाल अनि अञ्जु पनत्का गीतहरू असाध्यै मनपर्छन्। यति मात्रै हैन उनी एउटै गीतलाई उल्टो र सुल्टो जताबाट पनि गाउन सक्ने गायिकाको रूपमा समेत परिचित छिन्।

उनै गौतमले उकेराको नियमित स्तम्भ प्रिय १० सुरमा आफूलाई मनपर्ने आफ्ना पाँच र अरुका पाँच गीत यसरी छनौट गरेकी छन्।

आफ्ना पाँच
अपार माया हाम्रो 

यो मेरो पहिलो गीत हो। पहिलो गीत जहिल्यै स्पेशल भइहाल्ने नै भयो। नरेन्द्र प्यासी दाइसँग गाएको थिएँ। यो गीतलाई किरण बाबु पुनले शब्द तथा संगीत गर्नुभएको छ। पहिलो पटक स्टुडियो छिर्दा डर लागिरहेको थियो। स्टुडियोमा मैले गाउँदा कस्तो होला, के होला भन्ने डरमिश्रित उत्सुकता मनमा थियो।

सायद नरेन्द्र प्यासी गायनमा आउँदा म जन्मिएकै थिइनँ होला। त्यस्तो गायकसँग पहिलो गीत गाउन पाउनु मेरा लागि सौभाग्य नै थियो। डर र खुसी मिश्रित भावना मनभरी थियो। घरि-घरि आकाशले आएर थिचेजस्तो अनुभव हुन्थ्यो। त्यहि माथी स्टुडियो बाहिर बस्नुभएको धेरै जनाले यो बहिनीले गीत गाउन सक्नुहोला र भनिरहेका थिए।

उहाँहरुले त्यसो भन्दा आत्मबल घटिरहेको थियो। यस्तो अवस्थामा पनि मैले हिम्मत जुटाएर गाएको थिएँ। पछि सबै जनाले ‘राम्रो गाउनु भयो’ भन्ने प्रतिक्रिया दिनुभयो। पछि यो गीत राम्रै चल्यो। त्यसकारण यो गीत मेरो लागि एकदमै प्रिय छ।

जाउन माया भागेर
स्रोता दर्शकले अत्यधिक रुचाइ दिनुभएको गीत हो यो। टिकटकमा अधिकांशले यो गीतको भिडियो बनाउनुभएको थियो। मैले स्टेजका कार्यक्रममा यो गीत गाउँदा दर्शकहरूले पनि सँग-सँगै गाउनुहुन्छ। त्यतिबेला बेग्लै प्रकारको हौसला पाएको अनुभुति हुन्छ।

एक पटक सर्लाहीको कन्सर्टमा यो गीत गाइसकेपछि त्यहाँका दर्शकले ‘यो गीत तपाईंले नै गाउनुभएको हो र?’ भन्दै अचम्म मानेका थिए। यो सुन्दा एकदमै खुशी लाग्यो।

गीतको शब्द संगीत पनि अत्यन्त राम्रो भएको हुनाले पनि यो गीत मलाई प्रिय लाग्छ। यो गीतमा शब्द रचना कुमार कटुवालको छ भने संगीत दीपक शर्माले गर्नु भएको छ। स्वर मेरो अनि सुभाष पुरीको छ।

कुटु कुटु
यो पप गीत हो। यसमा चाहिँ नविन रावल र मेरो आवाज रहेको छ। शब्द र संगीत पनि नविनकै हो। डान्सिङ पप गीत भएकाले मलाई यो राम्रो लागेको हो। स्टेज कार्यक्रममा दर्शकलाई उफार्ने किसिमको गीत भएर मलाई यो गीत प्रिय लाग्छ।

चम्चा पिलेट 
यो गीतलाई एकाएक चर्चामा आएको गीत हो। गीत सार्वजनिक हुने बितिक्कै अत्यधिक स्रोता दर्शकले मनपराउनुभयो। सबैको मुखमा चम्चा पिलेट शब्द नै झुन्डिएको थियो। यस गीतमा धेरै जनाले आवाज भरेका छौं। मैले अनि अस्मिता अधिकारी, जिवेश गुरुङ र भिम बिष्टले गाएको गीतको शब्द तथा संगीत भने भिम कुसारीको छ।

के यो माया हो
म आफैँले लेखेको पहिलो गीत भएर पनि होला, यो गीत मलाई असाध्यै प्रिय लाग्छ। मैले यो गीत स्टेजमा पनि गाउने गरेको छु। गीतमा संगीत पनि मेरै छ। धेरैले तपाईंको जीवनमा पनि यो गीतले मेल खान्छ भनेर सोध्नुहुन्छ। तर, आफैँ गाउने र शब्द सिर्जना गर्ने भएकोले लेखेको हुँ।

अरूका पाँच
म कहिले हाँसेको थेँ

मैले स्कुलले जीवनमा सरमिस र कक्षाका साथीहरूलाई सुनाउने गीत थियो यो। यो गीत मैले उल्टो सुल्टो जताबाट पनि गाउने गर्थे। मैले गायनमा प्राक्टिस गर्दा पहिलो नम्बरमा आउने गीत हो यो। त्यस कारण पनि यो मेरो लागि प्रिय छ। यो गीतलाई यस कुमारले गाउनुभएको हो भने शब्द संगीत पनि उहाँकै छ।

नबिर्से तिमीलाई
यो गीतको शब्द संगीत र स्वर नै एकदमै राम्रो लाग्छ। अन्जु पन्त दिदीले गाउनुभएको यो गीत सुन्दा पनि आनन्द लाग्छ। गायकीमा म अन्जु पन्तको फ्यान पनि हो। उहाँको आवाजले यो गीत यति मिठो भएको छ नि सुन्दा पनि मुटुभित्रै छुन्छ। यस गीतमा विपिन किरणले शब्द लेख्नुभएको छ भने संगीत महेश खड्काको छ।

उकाली ओरालीहरूमा 
मैले सधैँ प्राक्टिस गर्दा यो गीत गुनगुनाइरहेको हुन्छु। आनन्द पनि लाग्छ। स्कुलमा पनि मलाई साथीहरूले यहि गीत गाउन भन्थे। उनीहरूको आग्रहमा धेरै गाएको भएर पनि होला मलाई यो गीत निकै प्रिय लाग्छ। अझै पनि यो गीत सुन्दा बाल्यकालको याद आउँछ। यो गीतलाई तारादेवीले गाउनुभएको हो भने शब्द रचना चाँदनी शाहले गर्नुभएको छ। यस गीतको संगीत भने नातिकाजीको छ।

एउटा मान्छेको मायाले कति 
कुनै-कुनै गीतहरू यस्ता हुन्छन्, जुन किन प्रिय लाग्छ नै भन्न सकिँदैन। यो गीत पनि त्यस्तै हो। जति सुने पनि सुनिरहुँ लाग्छ। यस गीतको शब्द संगीत र स्वरले छुन्छ। चाँदनी शाहले रचना गर्नुभएको गीतलाई नारायण गोपालले गाउनुभएको छ भने यसमा दीपक जङ्घमको संगीत सुन्न सकिन्छ।

पहिलो नम्बरमा 
फिल्म ‘छक्का पञ्जा ३’मा समावेश रहेको यो गीत सुन्ने बितिक्कै जो कसैको मुखैमा झुन्डिन्छ। गीतका शब्द संगीत र स्वर एकदमै सरल लाग्छ। त्यसकारण पनि प्रिय लाग्छ। राजेन्द्र थापाले लेख्नुभएको यो गीतलाई दीपक शर्माले संगीत गर्नुभएको छ। गीतमा डेबिङ शंकर र विन्दु परियारको स्वर सुन्न सकिन्छ। 

२४ चैत, २०८०, ०९:२८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।