पहिलो पटक जुगल हिमाल आरोहण हुँदै

पहिलो पटक जुगल हिमाल आरोहण हुँदै

काठमाडौं : सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल १ (६५९१ मि) र २ (६५१८ मि)को पहिलो पटक आरोहण हुने भएको छ।

नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाको पहलमा नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले चैत २४ गतेबाट हिमाल आरोहण सुरु गर्दैछन्।

शुक्रबार संघले संयुक्त पत्रकार सम्मेलन गरेर जुगल हिमाल आरोहणको लागि सुरू गर्न लागिएको जनाएको हो।

जुगल आरोहणको लागि २०७९ चैत्र २८ गतेको मन्त्रिपरिषद् बैठकले खुला गरेको थियो।

शनिबार सुरू हुने पहिलो आरोहण नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा समेत गर्न लागिएकोले यसमा कोरियालीहरू पनि सहभागी हुँदैछन्।

आरोहण दलको नेतृत्व दक्षिण कोरियाको तर्फबाट विश्व विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अम होङ गिल र नेपालको तर्फबाट विश्व कीर्तिमानी आरोही एवं नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष दावा याङ्गुम शेर्पाले गर्दैछिन्।

पत्रकार सम्मेलन

आरोही टोली २०८१ साल वैशाख १३ काठमाडौं फर्कने अपेक्षा समेत गरिएको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस आरोहण दललाई प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्ने कार्यक्रम छ।

यस आरोहणको लागि सम्पूर्ण आरोहीहरूको रोयल्टी समेत सरकारले मिनाहा गरेको संघले जनाएको छ।

दक्षिण कोरियाली र नेपाली आरोहीहरूले जुगल हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएपछि मिति २०८० वैशाख १६ गते पर्यटन बोर्ड र कोरियाली राजदूतावासले विशेष कार्यक्रमको आयोना गर्ने कार्यक्रम समेत रहेको विज्ञप्तिमा उल्लेख छ।

चैत २३, २०८० शुक्रबार २१:३५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।