‘०८४ लाई सकारात्मक सन्देश दिन इलाम २ कांग्रेसले जित्नैपर्छ’

‘०८४ लाई सकारात्मक सन्देश दिन इलाम २ कांग्रेसले जित्नैपर्छ’

काठमाडौँ : नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले इलाम २ को उपनिर्वाचनले आगामी २०८४ सालको निर्वाचनका लागि सन्देश दिने भन्दै एकजुट हुन पार्टी पङतीलाई आग्रह गरे।

शुक्रवार नेपाली कांग्रेस इलाम–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उनले इलामको उपनिर्वाचनले राष्ट्रिय राजनीतिमै विशेष अर्थ राख्ने भएकाले पार्टीले आकाङ्क्षीहरूको व्यवस्थापन र कार्यकर्ताहरूमा उत्साह जगाउन सक्नुपर्ने बताएका थिए।

‘उम्मेदवार बन्नका लागि आकाङ्क्षा राख्नुहुने सबै सक्षम र योग्य हुनुहुन्थ्यो। पार्टी सभापतिसँग पटक पटक भएको छलफलपछि एक किसिमको सहमति बनेको छ। त्यसैले अब ०८४ को निर्वाचनलाई क्षति नपुगोस् भन्ने उद्देश्यले आकाङ्क्षीहरूको व्यवस्थापनमा पनि नेतृत्वले ध्यान दिनुपर्छ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारले इलाम २ को परिस्थिति विगतको भन्दा अलिक फरक र केही सहज भएको भनिए पनि सबै एकजुट भएर प्रशस्त मिहेनत गर्न सुझाव दिइन। उनले कांग्रेसका सबै निकाय, विभाग सक्रिय गराएर कांग्रेलाई जिताउनुपर्ने बताइन्।

कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझीले कांग्रेसको विचार र सिद्धान्तले मात्र देशको भविष्य सुरक्षित राख्ने भएकाले सबै पार्टी पङ्क्तिलाई एकजुट भएर इलाम २ का कांग्रेस उम्मेदवारलाई विजयी गराउन आव्हान गरेका थिए।

‘पार्टीका नेताहरू कोही पनि सर्वगुण सम्पन्न हुँदैनन्। हाम्रा उम्मेदवारहरू पनि केही कमजोरी होला तर पार्टीको विचार र सिद्धान्तलाई ध्यान दिएर कांग्रेसलाई जिताउनुपर्छ,’उनले भने। पार्टीका सानातिना गल्ती कमजोरीले प्रजातन्त्र जोखिममा पर्ने भएकाले सबैले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सबै आकाक्षीहरुलाई साथै लिएर चुनाव जित्ने दाबी गरे। उनले विगत भन्दा यस पटक चुनाव जित्न सहज भएको दाबी पनि गरे । कार्यक्रममा आकाक्षीहरु केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङदेनलगायतले आफ्नो धारणा राखेका थिए।

२३ चैत, २०८०, १६:५३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।