एसइई परीक्षा केन्द्रको झगडाले धार्मिक रङ्ग लिएपछि सुनसरीका पाँच पालिकामा कर्फ्यु

एसइई परीक्षा केन्द्रको झगडाले धार्मिक रङ्ग लिएपछि सुनसरीका पाँच पालिकामा कर्फ्यु

विराटनगर : सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच  पालिकामा कर्फ्यु जारी गरेको छ। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले शुक्रवार ५ बजेदेखि अनिश्चितकालकालागि कर्फ्यु आदेश जारी भएको हो।

कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि पाँच पालिकामा कर्फ्यु लगाइएको उल्लेख छ।

एसइई परीक्षाको क्रममा हरिनगर गाउँपालिका– १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबिच झडप भएपछि प्रहरीले ५१ राउन्ड हवाई फायर गर्नुपरेको थियो। भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए।

अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपत्कालीन बैठकले कर्फ्यु लगाउने विषयमा छलफल भएको थियो। त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा समेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्याँस र हवाई फायर गरेको थियो।

२३ चैत, २०८०, १६:४६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।