गाजामा राहत पुर्‍याउन इजरायलले तीन नाका खोल्ने

गाजामा राहत पुर्‍याउन इजरायलले तीन नाका खोल्ने

एजेन्सी : गाजामा थप राहत सामग्री पुर्याउन इजरायलले तीन स्थानको सीमा खोल्ने भएको छ।

युद्ध सुरू भएदेखि बन्द रहेको उत्तरी गाजाको इरेज गेट पहिलोपटक अस्थायी रूप खुल्दैछ भने मानवीय सहायता आपूर्तिका लागि अश्दोद बन्दरगाह पनि खोलिनेछ।

यस बाहेक, जोर्डनबाट राहत सामग्री गाजा प्रवेश गर्नको लागि केरेम शालोम क्रसिङ पनि खोलिने समाचार संस्था बीबीसीले जनाएको छ।

सामग्री वितरण गर्ने सात जना कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि यो निर्णय गरेका हुन्।

गत सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सात जनाको ज्यान गएपछि संस्थाले राशन वितरणको काम रोकेको थियो।

वर्ल्ड सेन्ट्रल किचेनको टोली इजरायलतर्फ तोकिएको मार्गबाट दक्षिणी तट नजिकै गइरहेको बेला भएको आक्रमणमा उनीहरूको मृत्यु भएको थियो।

द्वन्द्व सुरु भएयता राहत सामग्री वितरणमा खटिएका कम्तीमा १९६ स्वयंसेवकको मृत्यु भइसकेको समाचारमा उल्लेख छ।

गाजामा अक्टोबर ७ मा हमासको आक्रमणपछि ३३ हजारभन्दा बढी मानिस मारिएका छन्। यो तथ्यांक हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो।

इजरायली नाकाबन्दीका कारण गाजा पट्टीमा बसोबास गर्ने करिब २० लाख जनसंख्या भोकमरीको संकटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसंघको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ।

२३ चैत, २०८०, ०९:२१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।