'पहिला कांग्रेस-एमाले मिलेपछि मात्र संविधान बन्यो, अब दुई पार्टी मिलेर स्थिरता दिनुपर्छ'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने भन्दै एमाले कांग्रेस एक हुनुपर्ने बेला आएको बताए।
उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको दाबी गर्दै स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताए।
विगतका अनुभव हेर्दा पनि कांग्रेस र एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न दुई पार्टी मिल्नुको विकल्प नरहेको बताए।
'देश अप्ठ्यारो परिस्थितिमा छ। त्यसको लागि अहिले जुन गठबन्धनहरू चलिरहेको छ नि, एमाले र माओवादीको। योभन्दा पहिला नेपाली कांग्रेस र माओवादीको। यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनै सम्भावना छैन, राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा त हरेक प्रदेशमा आइसकेको छ,' उनले भने, 'पहिलो संविधानसभा चारजना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्नुभयो, तर संविधान त बनेन। संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ।'
चैत २२, २०८० बिहीबार १९:१८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।