राष्ट्रियसभा उपाध्यक्षमा एमालेको उमेदवार बनिन् विमला घिमिरे

काठमाडौं : यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा एमालेले पदमा विमला घिमिरेलाई उमेदवार बनाउने भएको छ।
सत्तासाझेदार दलबीचको दलको सहमतिअनुसार एमालेले घिमिरेलाई उमेदवार बनाउने निर्णय गरिएको राष्ट्रियसभामा एमाले प्रमुख सचेतक भगवती न्यौपानेले जानकारी दिइन्।
राष्ट्रियसभामा एमालेका १० मध्ये घिमिरेसहित सात महिला सांसद छन्। उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन्। उनको कार्यकाल दुई वर्ष बाँकी छ।
उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो।
राष्ट्रियसभामा माओवादी केन्द्र ठूलो दलका रूपमा छ। अध्यक्षसहित माओवादीका १८ सांसद छन्।
नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ सांसद छन्। जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका १ र राष्ट्रिय जनमोर्चा १ सांसद छन्।
चैत २२, २०८० बिहीबार १५:३६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।