प्रिमियर लिग : आर्सनल शीर्ष स्थानमा फर्कियो, सिटीको जितमा फोडेनको ह्याट्रिक

प्रिमियर लिग : आर्सनल शीर्ष स्थानमा फर्कियो, सिटीको जितमा फोडेनको ह्याट्रिक

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा फर्किएको छ।

बुधबार राति भएको खेलमा लुटन टाउनलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो। आर्सनलले ३० खेलबाट ६८ अंक बनाउँदा एक खेल कम खेलेको लिभरपुल भने ६७ अंकका साथ दोस्रो स्थानमा झरेको छ।

बुधबार राति आर्सनलाई जिताउनका लागि मार्टिन ओडगार्डले एक गोल गर्दा अर्को गोल भने उपहार पाएको थियो। ओडगार्डले के हार्भाटेजको पासमा गोल गर्दै २४औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए।

४४औं मिनेटमा लुटनका डाइकी हशीओकाले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २-० ले अघि बढेको थियो। दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि आर्सनल अन्ततः २-० को जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो।

पराजित भएको लुटन टाउन भने २२ अंकका साथ पुछारबाट तेस्रो स्थानमा रहेको छ भने उसका रेलिगेशन खतरा बढ्दै गएको छ।

प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ। जितसँगै सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने एस्टन भिल्ला चौथो स्थानमा यथवात रहेको छ।

सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलको समान ६७ अंक हुँदा चौथो स्थानमा रहेको स्टन भिल्ला भने ८ अंकले पछि रहेको छ।

बुधबार राति सिटीलार्य जिाउनका लागि फिल फोडेनले ह्याट्रिक गर्दा रोड्रीले एक गोल थपेका थिए। एस्टनका लागि जोन डुरनले एक गोल फर्काए।

रोड्रिले ११औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २०औं मिनेटमा एस्टनका जोनले गोल गर्दै खेल बराबरी गरे। त्यसपछि फिल फोडेनले ह्याट्रिक पूरा गर्दा सिटी फराकिलो अन्तरले विजयी भयो। फोडेनले पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए।

६२औं र ६९औं मिनेटमा लगातार गोल गर्दै उनले ह्याट्रिक नै पूरा गरेपछि सिटी अन्ततः ४-१ को फराकिलो अन्तरले विजयी भयो। अर्को खेलमा ब्रेन्टफोर्ड र ब्राइटनले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रिमियर लिग अन्तर्गत आज राति सवा १२ बजे लिभरपुल र सेफिल्ड युनाइटेड तथा १ बजे चेल्सी र म्यानचेस्टर युनाइटेड आमने सामने हुने छन्।

चैत २२, २०८० बिहीबार ०८:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।