सात संसदीय समितिको बैठक आज, यस्ता छन् छलफलका विषय

सात संसदीय समितिको बैठक आज, यस्ता छन् छलफलका विषय

काठमाडौं : विभिन्न सात संसदीय समितिहरूको बैठक आज बस्दैछ। प्रतिनिधिसभाका अर्थ समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान ११ बजे बोलाइएको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले साढे ११ बजे, सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दिउँसो १ बजे र महिला तथा सामाजिक समितिले २ बजे बैठक राखेका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्दैछ। अर्थ समितिको आजको बैठकमा उजुरी छानविन उपसमितिमा हालसम्म भएका काम कारवाहीको सम्बन्धमा छलफल हुने जनाइएको छ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेकाा काम कारबाहीका बारेमा छलफल हुँदैछ।

सार्वजनिक लेखा समितिले विकास निर्माण केन्द्रीत छलफल गर्दैछ। समितिमा आज हुलाकी राजमार्ग निर्माण सम्बन्धमा छलफल गर्ने तयारी छ।

त्यस्तै, महिला तथा सामाजिक समितिमा पनि हिंसा सँग सम्बन्धित दुई महत्वपूर्ण विषयमा छलफल हुँदैछ। समितिले मानव बेचबिखन र लैङ्गिक हिंसा सम्बन्धी दुई विषयमा छलफल गर्न लागेको जनाएको छ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने तयारी छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २०४औं बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति विवरण, सार्वजनिक नीतिको मस्यौदा, तथा निर्माण र कार्यान्वयन लगायतका विषयमा छलफल हुँदैछ।

२२ चैत, २०८०, ०८:२९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।