आईपीएल : दिल्लीलाई १०६ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा

आईपीएल : दिल्लीलाई १०६ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई कोलकाता नाइट राइडर्सले १०६ रनको पराजित गरेको छ।

पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो। उसका लागि सुनिल नारेन र अंगकृष रघुबंशीले अर्धशतकीय पारी खेल्दा अन्य खेलाडीको पनि प्रदर्शन सम्झन लायक रह्यो।

पहिलो विकेटका लागि फिल साल्ट र सुनिल नारेनले ४.३ ओभरमा ६० रनको साझेदारी गरे। फिल साल्ट १२ बलमा १८ रन बनाउँदा चार चौका प्रहार गरेर आउट भए। त्यसपछि सुनिल नारेन र अंगकृष रघुवंशीले ४८ बलमा १०४ रनको साझेदारी गर्दै कोलकातालाई अघि बढाए।

दोस्रो विकेटको रूपमा सुनिल नारेन ३९ बलमा ८५ रनको विस्फोटक पारि खेल्दै आउट भए । सुनिलले ३९ बलमा समान सात चौका र छक्का प्रहार गरे।

यसैगरी अंगकृष २७ बलमा ५४ रन बनाएर तीन छक्का र पाँच चौका प्रहार गरेर  क्रिजबाट विदा भए। उनी आउट हुँदा १३.२ ओभरमा कोलकाताको स्कोर ३-१७६ थियो। नारेन र रघुवंशीपछि आन्द्रे रसेल र श्रीयस अय्यरले मोर्चा सम्हाले।

कप्तान अय्यर ११ बलमा १८ रन बनाएर आउट भए भने क्रिजमा आएका रिंकु सिंहले ८ बलमा २६ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार गरे। रिंकु सिंह आउट हुँदा कोलकाताले पाँच विकेट गुमाएर २६४ रन बनायो।

आन्द्रे रसेल १९ बलमा ४१ रन बनाएर आउट हुँदा सातौं विकेटको रुपमा रमनदीप सिंहले २ रन बनाए । मिचेल स्टार्क एक रनमा नटआउट रहे । दिल्लीका एनरिच नोट्जेले सर्वाधिक ३ विकेट लिँदा इशान्त शर्माले २ विकेट हात पारे।

विशाल जवाफी लक्ष्यसहित मैदान उत्रिएको दिल्लीको सुरूवात राम्रो भएन । मिडिल अर्डरमा कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सले अर्धशतकीय पारि खेले पनि फराकिलो हार टरेन।

कप्तान पन्तले ५५ तथा स्टब्सले ५४ रनको पारि खेल्दा डेभिड वार्नर १८ र पृथ्वी सा १० रनमा पभेलियन फर्किए। मिचेल मार्स, अभिषेक पोरेल, अक्षर पटेलले खाता खोल्नै सकेनन् भने अन्य खेलाडीको पनि स्कोर दोहोरो अंकमा रहेन।

अन्त्यमा दिल्ली १७.२ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो। दिल्लीलाई सस्तैमा समेट्न विभव अरोरा र बरुण चक्रवर्तीले समान तीन तीन विकेट लिँदा मिचेल स्टार्कले २ विकेट हात पारे।

लगातार जीत निकालेको कोलकाता ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने दिल्लीको यो तेस्रो हार हो। दिल्ली तालिकामा पुच्छारबाट दोस्रो स्थानमा छ।

आईपीएल अन्तर्गत आज राति गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दैछन्।

चैत २२, २०८० बिहीबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।