श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याजको चक्र अन्त्य गर्न सरकार सफल रहेको दाबी

श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याजको चक्र अन्त्य गर्न सरकार सफल रहेको दाबी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस गरेका छन्।  

बुधबार गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री दाहालले गत आर्थिक वर्षमा सरकार श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले सफल रहेको दाबी गर्दै सुशासनका कयौं मानकहरू स्थापित गर्न सफल भएको बताए। 

राष्ट्रपति पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन्। यसको कार्यान्वयनको लागि सरकारको तदारुकता आवश्यक रहेको उनको भनाइ थियो। 

उनले उपलब्ध स्रोत र बजेटको सदुपयोग गरि विकास निर्माण र सुशासन गर्ने सवालमा सधैं प्रयत्नशील रहेको हुनुपर्ने बताए।  

त्यस्तै, संविधान बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा भए गरेका काम र उपलब्धिसहितको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन ) ऐन बमोजिमको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले उपलब्ध स्रोत साधनको परिचालन गरी राज्यका निर्देशक सिद्धान्तद्वारा निर्देशित भई नीतिहरूको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए। 

राष्ट्रपति पौडेलले सरकारले संविधानको प्रस्तावनामा उल्लेखित मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई विशेष ध्यान दिई राज्य सञ्चालनमा लागू गर्दै जानु पर्ने बताए। 

नेपालको संविधानको भाग–४ मा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वसम्बन्धी व्यवस्थाले राज्य व्यवस्था सञ्चालनका लागि मार्गनिर्देशन गर्नुका साथै राज्यको चरित्र, भावी दिशा एवं आर्थिक, सामाजिक रूपान्तरणका लक्ष्यहरू समेत निर्धारण गरेका छन्। यस्ता निर्देशक सिद्धान्त र नीतिहरूले नागरिकको लोकतान्त्रिक हक अधिकारको सार्थक उपभोग गर्न सक्ने आधारहरू समेत खडा गरेका छन्।

२१ चैत, २०८०, १८:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।