तोयम राया महालेखापरीक्षक भए स्वार्थको द्वन्द्व हुने ट्रान्सपरेन्सी इन्टरनेशनलको दाबी

तोयम राया महालेखापरीक्षक भए स्वार्थको द्वन्द्व हुने ट्रान्सपरेन्सी इन्टरनेशनलको दाबी

काठमाडौँ : आफ्नै कामकारबाहीको लेखा परीक्षण गर्नेगरि संवैधानिक परिषद्ले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आपत्ति जनाएको छ।

इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बुधवार विज्ञप्तिमार्फत राया महालेखापरीक्षकमा नियुक्तहुँदा स्वार्थ बाझिने र सुशासनमा गम्भीर खलल पुग्ने उल्लेख गरेकी छिन्।

राया २०८० वैशाख २१ गतेसम्म अर्थ सचिवका रूपमा कार्यरत थिए। त्यसपछि उनी उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी भएका थिए।

उनी महालेखा परीक्षक नियुक्त भएमा सचिवका रूपमा आफैँले गरेको कामको समेत लेखा परीक्षण गर्ने र आफैँले गरेको कामको आफैँले लेखापरिक्षण गर्नु नैतिक आचरणमा आँच आउने विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल सरकारका सबै निकायको लेखा परीक्षण गर्ने सर्वोच्च पद भएकाले रायालाई लेखा परीक्षकको रूपमा तोक्दा र लेखापरीक्षककले जिम्मेवारी स्वीकार गर्दा लेखा परीक्षण गराउने निकाय र कार्यसँग लेखा परीक्षकको नैतिक आचरणमा आँच आउने अवस्थाहरू विचार गर्नुपर्ने अभ्यास रहेको विज्ञप्तिमा उल्लेख छ।

‘संवैधानिक परिषद्को यस सिफारिसबाट तोयम रायाले आफू अर्थ सचिव, उपराष्ट्रपतिको कार्यालयमा सचिव र राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रूपमा कार्यरत रहेको (जसको लेखा उत्तरदायी अधिकृत उहाँ स्वयं नै हो) आर्थिक वर्ष २०७९-८० र २०८०/८१ को समेत महालेखा परीक्षण सम्पन्न गर्दै सोको प्रतिवेदनमा अन्तिम हस्ताक्षर गरी सम्माननीय राष्ट्रपति समक्ष बुझाउनुपर्ने हुन्छ,’ विज्ञप्तिमा भनिएको छ,‘आफ्नै काम कारबाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखा परीक्षण आफैँले गर्नु लेखा परीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने र सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभई यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ।’

चैत २१, २०८० बुधबार १७:२४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।