इन्टर्नसिपको पक्षमा बोल्दै शिक्षामन्त्री सुमनाले भनिन्' गोप्य सूचनामा पहुँच नदिई काम सिकाउन खोजेको हो, समानान्तर सत्ता चलाएको हैन'

इन्टर्नसिपको पक्षमा बोल्दै शिक्षामन्त्री सुमनाले भनिन्' गोप्य सूचनामा पहुँच नदिई काम सिकाउन खोजेको हो, समानान्तर सत्ता चलाएको हैन'

काठमाडौँ : शिक्षा मन्त्री सुमना श्रेष्ठले मन्त्रालयको गोप्य सूचनामा पहुँच नहुने गरी सरकारी काम सिकाउन मन्त्रालयले इन्टर्नसिपको अवधारणा ल्याएको बताएकी छिन्।

संसद्मा मन्त्रालयबारे उठेको प्रश्नहरूको जवाफ दिँदै उनले राज्यलाई आर्थिक भार नपर्ने गरी सीमित सङ्ख्यामा मापदण्ड बनाएर, कर्मचारीको नेतृत्वमा काम गराउन खोजेको तर्क गरिन्।

उनले आफूले इन्टर्नसिपका काम गराउन खोज्दा समानान्तर सत्ता चलाउन खोजेको भन्दै आलोचना भएकोमा विमति जनाइन्। उनले यसबारे कार्यविधि वेबसाइटमै राखिएको र त्यसको अध्ययन गरेर प्रश्न गर्न आग्रह गर्दै विद्यार्थीहरूलाई न्याय हुने कुरामा राजनीति नगर्न आग्रह गरेकी थिइन्।

‘आफ्नो राजनीतिक लाभ हेरेर विद्यार्थीको राजनीतिक सङ्गठन भएन भने विद्यार्थीले कसरी राजनीति सिक्छ भन्ने  प्रश्न गर्नुहुन्छ। यो त एक प्रकारको इन्टर्नसिप जस्तो हो भन्नुहुन्छ। के विद्यार्थीले राजनीति मात्रै सिक्ने त ?' उनले प्रश्न गरेकी थिइन्।

सरकारी कार्यालयहरू कसरी चल्छ, कसरी प्रभाव पार्न सकिन्छ भन्ने सिकाउन इन्टर्नसिपको अवधारणा ल्याएको भन्दै उनले प्रश्न गरिन्' के हाम्रो देशमा नेता मात्र चाहिएको हो? अब्बल कर्मचारी पनि चाहिएको छ, नीति निर्माता पनि चाहिएको छ। श्रमसँग शिक्षा जोडिएन भन्नुहुन्छ, बेरोजगारको कारखाना भयो पनि भन्नुहुन्छ?'

उनले युवाको विमानस्थलमा लर्को देखेर दुःख व्यक्त गर्ने तर काम सिकाउन ल्याएको इन्टर्नसिपको विरोध गरेकोमा असहमति जनाइन्। 

चैत २१, २०८० बुधबार १७:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।