ब्याट्सम्यानहरूको कमजोर प्रदर्शनले आयरल्यान्डसँग हार्यो नेपाल

ब्याट्सम्यानहरूको कमजोर प्रदर्शनले आयरल्यान्डसँग हार्यो नेपाल

काठमाडौं : कमजोर ब्याटिङका कारण आयरल्यान्ड ‘ए’विरुद्धको पहिलो एक दिवसीयमा नेपाल २१ रनले पराजित भएको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले दिएको १५८ रनको मामुली लक्ष्य पछ्याउन नेपाल चुक्यो।

पहिले ब्याटिङ गर्दै आयरल्यान्डले १५७ रनको स्कोर खडा गरेको थियो। नेपालका कमलसिंह ऐरीले ह्याट्रिक लिँदै आयरल्यान्डलाई सस्तोमा समेट्न योगदान गरे।

दोस्रो इनिङमा नेपालले खराब ब्याटिङ गर्दै नतिजा आयरल्यान्डलाई सुम्पियो।

आयरल्यान्डविरूद्व नेपालका चार बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रम जोड्न सकेनन्। नेपाललाई ओपनर देव खनालले आक्रामक सुरुवात दिलाए। उनी र अर्जुन कुमालबीच पहिलो विकेटका लागि ५.१ ओभरमा ३५ रनको साझेदारी भएको थियो।

तर, २६ रनको व्यक्तिगत स्कोरमा देव आउट भएसँगै नेपालको ब्याटिङ लड्खडाउन पुग्यो। अर्का ओपनर अर्जुन कुमाल ९ रन, भीम सार्की शून्य, अर्जुन साउद ४ रन, आरिफ शेख शून्य, कप्तान विनोद भण्डारीमा ९ रनमा आउट भएपछि नेपाल ५६ रनमा ६ विकेटको अवस्थामा पुग्यो।

नवौं नम्बरमा आएका साहब आलमले काउन्टर अट्याक गर्दै नेपालको आशा जगाएका थिए। तर, नेपाललाई जीतका लागि २१ रनमात्र चाहिएको अवस्थामा उनी आउट भए । नेपाल १३६ रनमै समेटियो।

आयरल्यान्डका म्याथु हुम्फ्रेजले ५ विकेट र लियाम म्याककार्थीले ४ विकेट लिए।

अब शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ। यसअघि खेलिएको तीन खेलको टी-२० शृंखलामा भने आयरल्यान्ड ‘ए’ २-१ ले विजयी भएको थियो। 

चैत २१, २०८० बुधबार १५:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।