कमलसिंह ऐरीको ह्याट्रिकमा १५७ रनमा समेटियो आयरल्यान्ड उल्भ्स
काठमाडौं : कमलसिंह ऐरीको ह्याट्रिकमा नेपाल ए विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड उल्भ्स १५७ रनमा समेटिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड उल्भ्स ३८.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमा खुम्चिएसँगै नेपालले १५८ रनको लक्ष्य पाएको छ।
आयरल्यान्डका लागि केड क्यारमिकलले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। ७७ बल सामना गरेका उनले चार चौका हिर्काए।
त्यसबाहेक कप्तान निल रक ३९, पिटर मोर २१, स्टेफेन दोहेनी र जेम्स म्याककोलुम समान १२-१२ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिँदा साहब आलम र मौसम ढकालले समान दुई-दुई तथा रिजन ढकालले एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि भएको तीन खेलको टी२० सिरिजमा आयरल्यान्ड उल्भ्स नेपाल ‘ए’माथि हाबी भयो।
उसले २-१ ले सिरिज जित्दा त्यसअघि सिनियर टोलीसँगको भएको दुवै टी२० खेल भने आयरल्यान्ड उल्भ्सले हारेको थियो।
चैत २१, २०८० बुधबार १२:४०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।