रास्वपामा सहकारीको रकम ठगीमा संलग्न कोर टिम नै छ : महामन्त्री शर्मा

रास्वपामा सहकारीको रकम ठगीमा संलग्न कोर टिम नै छ : महामन्त्री शर्मा
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गरे।

शर्माले भने, ‘एउटा नयाँ बनेर आएको दलको ऊर्जालाई म सम्मान गर्दछु। तर, आज देश र दुनियाँले सुन्नेगरि म के आग्रह गर्दछु भन्दा त्यो पार्टीभित्र एउटा कोर टिम रहेछ, जो सहकारीको रकम ठगीमा संलग्न छ। अर्को एउटा कोर टिम रहेछ जो ढोकामा बसेर त्यस्ता गतिविधिको ढाकछोप गरिरहेको छ।’

देशभरिका विभिन्न सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गरि फरार र रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई(जीवी) गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको दाबी गर्दै शर्माले राई मलेसिया रहेको उल्लेख गरे।

उनले भने, ‘मैले आरोप लगाएको होइन, खोज्ने काम सरकारले गर्ला तर हामीले पाएको सूचनाअनुसार जीवि राई गृहमन्त्रीको सम्पर्कमा छन्। आकाशमा गएर लुक, पातालमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा राख्ने तथ्यमा हामी पुगिसकेका छौँ।’

गृहमन्त्री लामिछाने सहकारीको ८० करोड रुपैयाँ हिनामिना प्रकरणमा मुछिएको भन्दै महामन्त्री शर्माले सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग समेत गरे। सरकार बलजफ्ती गरेर छानबिन समिति गठन नगरे सदन चल्न नदिने उनको चेतावनी छ।

आफूहरूले संसदीय छानबिन समितिमा लामिछानेको जवाफ सुन्न चाहेको बताउँदै उनले भने, ‘माननीय गृहमन्त्री जीले भन्नुभयो- म सार्वजनिक रूपमा बहस गर्न तयार छु। कहाँ आउनुपर्ने हो भन्नुस् म त्यहाँ आउन तयार छु।’ आउनुस् बहस गर्नका लागि म ठाउँ निर्धारित गर्न चाहन्छु। त्यो हो-नेपाल देशको काठमाडौं जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा म उहाँलाई निमन्त्रणा गर्न चाहन्छु।’

काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, नेपालगञ्जको समानता र वीरगञ्जको सानोपाइला सहकारी संस्थाबाट जीवी र रवि लामिछाने सँलग्न गोर्खा मिडियाले ५० हजारभन्दा बढी बचतकर्ताको ८० करोडभन्दा बढी रकम हिनामिना भएको उनको भनाइ छ।

चैत २१, २०८० बुधबार १२:२९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।