जेलमा साढे चार किलो घटे केजरीवाल

जेलमा साढे चार किलो घटे केजरीवाल

एजेन्सी : दिल्ली सरकारकी मन्त्री तथा आम आदमी पार्टीका नेता आतिशीले जेलमा अरविन्द केजरीवालको तौल साढे चार किलो घटेको बताएकी छन्।

आतिषीले उनको स्वास्थ्य जोखिममा रहेको बताइन्।

आतिशीले एक्समा लेखिन्, ‘अरविन्द केजरीवाललाई मधुमेह छ। स्वास्थ्यमा समस्या भए पनि उहाँ २४सै घण्टा देशको सेवामा लाग्नुभयो। पक्राउ परेपछि अरविन्द केजरीवालको तौल ४.५ किलोले घटेको छ। यो धेरै चिन्ताजनक छ। आज भाजपाले उनलाई जेलमा राखेर उनको स्वास्थ्य जोखिममा पारेको छ।’

‘यदि अरविन्द केजरीवाललाई केहि भयो भने पूरै देश त के भगवानले पनि माफ गर्नुहुन्न’, उनले अगाडि लेखिन्।

दिल्लीका मुख्यमन्त्री केजरीवाल दिल्लीको मदिरा नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा जेलमा छन्। 

आफूलाई पक्राउ गरिएपछि त्यसलाई चुनौती दिँदै उनले उच्च अदालतमा मुद्दा दायर गरेका छन्। उक्त मुद्दामा बुधबार सुनुवाइ हुँदैछ।

२१ चैत, २०८०, ११:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।