आईपीएलमा बैंग्लुरुको तेस्रो हार, लखनऊ २८ रनले विजयी

आईपीएलमा बैंग्लुरुको तेस्रो हार, लखनऊ २८ रनले विजयी

काठमाडौं : इंडियन प्रिमियर लिग (आईपीएल)को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरुले तेस्रो हार बेहोरेको छ।

बैंगलुरुमा नै भएको खेलमा लखनऊ सुपर जाएन्ट्स विरुद्ध घरेलु टोली २८ रनले पराजित भएको हो।

१८२ रनको लक्ष्य पछ्याएको बैंग्लुरु १९.४ ओभरमा १५३ रनमा समेटियो। घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३३ रन बनाए।

यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे। फ्याफ डु प्लेसिसले १९ रन बनाए।

लखनऊका मयंक यादवले तीन विकेट लिँदा नवीन उल-हकले २ तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्न सफल रह्यो।

लखनऊका लागि ओपनर क्विन्टन डीककले ५६ बलमा ८ चौका र ५ छक्का सहित सर्वाधिक ८१ रन बनाए।

यस्तै निकोलास पुरनले २१ बलमा १ चौका र ५ छक्का सहित ४१ रनको विष्फोटक इनिङ खेले। मार्कस स्टोइनिसले २४ रन बनाउँदा कप्तान केएल राहुलले २० रन जोडे।

बैंग्लुरुका लागि ग्लेन म्याक्सवेलले २ तथा रिस टोप्ली, यश दयाल र मोहम्मद सिरजले समान १-१ विकेट लिए।

हारपछि बैंग्लुरु चार खेलमा २ अंक सहित पुच्छारबाट दोस्रो भएको छ। लखनऊ भने ३ खेलमा ४ अंक सहित चौथो छ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्दैछन्।

चैत २१, २०८० बुधबार ०७:१७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।