केही सञ्चालकहरूले सहकारी डुबाए, तीनलाई कारबाहीको दायरामा ल्याउँछौँ : कानूनमन्त्री गिरी

केही सञ्चालकहरूले सहकारी डुबाए, तीनलाई कारबाहीको दायरामा ल्याउँछौँ : कानूनमन्त्री गिरी

झापा : कानुनमन्त्री पदम गिरीले नियम विपरीत केही सञ्चालकहरूले प्लटिङ, हाउजिंग, ठुला कारोबार गरेर सहकारी डुबाइरहेको भन्दै नियमन गर्न सरकारले कानुनी दायरामा ल्याउने तयारी गरेको दाबी गरेका छन्।

६७ औँ राष्ट्रिय सहकारी दिवसमा झापामा आयोजित कार्यक्रममा बोल्दै गिरीले सहकारी आन्दोलन नेपालमा भुँइ मान्छेहरूले चलाएको आन्दोलन भएको भन्दै यो अभियान त्यतिकै नसिद्धिने दाबी समेत गरे।

‘केही सहकारीले गरेका गल्तीलाई देखाएर समग्र सहकारी अभियान कमजोर बनाउने गरी हमला भए पनि सफल हुँदैन,’ उनले भने।

उनले सहकारी क्षेत्रमा रहेको कमी-कमजोरी भने सच्याएर जानुपर्ने बताए। सुशासन कायम गर्न सहकारीका प्रत्येक सदस्य  प्रतिबद्ध हुनुपर्ने र सरकारले समेत सहकारीका कमजोरी हटाउन कानुन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बताए।

उनले केही समूह नागरिक भड्काएर अराजकता फैलाउन उद्धत रहेको र उनीहरूले ऋण तिर्नुपर्दैन भनेर अफवाह फैलाइरहेको बताए।

उनले ऋण नतिरी बस्नु सबैभन्दा ठुलो गल्ती हुने भन्दै समयमै ऋण नतिर्दा भोली ब्याज  हर्जनासमेत तिर्नुपर्ने अवस्था आउने बताए।

‘यतिबेला ऋण तिर्नुपर्दैन भनेर उकास्नेहरू त्यतिबेला भागिसकेका हुनेछन्। त्यस्तासँग सबै सतर्क रहनुपर्छ' उनले भने।

२० चैत, २०८०, १७:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।