आलम समात्ने एसएसपी खत्रीले समाते कालीबहादुर खाम, कानुनी फरार भए पनि राजनीतिक संरक्षणमा खुल्लै थिए काठमाडौँमा

आलम समात्ने एसएसपी खत्रीले समाते कालीबहादुर खाम, कानुनी फरार भए पनि राजनीतिक संरक्षणमा खुल्लै थिए काठमाडौँमा

काठमाडौँ : १७ लाख रुपैयाँ र हतियार चोरीको आरोपमा रामहरि श्रेष्ठलाई काठमाडौँबाट अपहरण गरेर चितवनको शक्तीखोर पूर्याएर यातना दिएर मारेको आरोप अदालतबाट पुष्टि भयो। घटनामा संलग्न अधिकांश माओवादी लडाकुहरू पक्राउ परे। तर कालीबहादुर खाम प्रहरीको फरार सूचीमा मात्र रहे।

माओवादी सशस्त्र द्धन्द्धताकाका कमाण्डरसमेत रहेका खाम व्यापारी श्रेष्ठको घरमा डेरामा बस्थे। त्यही डेरामा राखिएको पैसा र हतियार हराएको भन्दै उनी २०६५ वैशाख २८ गते अपहरणमा परे।

गोविन्दबहादुर बटालासहितको टोलीले घरबेटी श्रेष्ठसहित केशव अधिकारी, गंगाराम थापा र श्रेष्ठलाई नियन्त्रणमा लिएर चितवनस्थित तेस्रो डिभिजनमा लगेका थिए।

शारीरिक यातनाका क्रममा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजानेक्रममा बाटैमा उनको मृत्यु भएपछि उनीहरूले बोरामा ढुङ्गा राखेर शव पुलबाट नारायणी नदीमा फालेको पुष्टि भएको थियो।

२०६८ जेठ १७ गते जिल्ला अदालत चितवनले बटालालाई ३ वर्ष कैद हुने फैसला गरेको थियो। श्रेष्ठको अपहरण र कुटपिटको मुख्य योजनाकारको रूपमा खामको नाम रहे पनि उनी फरारै सूचीमा रहिरहे।

उनी सरकारी निकायका लागि फरार थिएनन्। तर कानुनीमा रूपमा भने सधैँ फरारकै सूचीमा रहे। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा बालुवाटारमा रहेको सरकारी निवास होस् या प्रधानमन्त्री नहुँदा प्रचण्डको निजी निवासमा होस् खामको आवतजावत निरन्तर थियो।

ठमेल क्षेत्रदेखि कपन क्षेत्रसम्ममा उनी देखिइरहे। तर माओवादीको संस्थागत संरक्षणका कारण उनी पक्राउ परेनन्।

यहीबिच ठमेलमा एक चिनियाँ व्यापारी लुटिएको घटना सार्वजनिक भयो। यार्सा व्यापार गर्ने चिनियाँ नागरिक मा मायर ली ठमेलमा लुटिएको भन्दै जाहेरी पर्यो। यो लुटपाटमा खाम जोडिए।

२०६७ असार २५ मा यार्सा बिक्री गर्ने बहानामा मित्रनगरस्थित मोरङ नवमित्र गेस्टहाउसको कोठा नम्बर ३०१ मा लीलाई बोलाएर २१ लाख २० हजार लुटपाट भएको आरोपमा प्रहरीले अनुसन्धान अगाडि बढायो।

प्रहरीले सो घटनामा खामसहित गणेशकुमार मल्ल र कर्णबहादुर बुढा संलग्न रहेको भन्दै अनुसन्धान अगाडि बढायो। असार २७ गते गोङ्गबुमा रहेको खामको डेरामा प्रहरीले छापा मार्दा जिल्ला वन कार्यालयको पत्र अनि छापसँगै यार्सा र १० राउन्ड गोली समेत फेला पर्यो।

यार्सा विक्री गर्न जिल्ला बन कार्यालयको अनुमति पूर्जी चाहिनेमा उनीहरूले कोठामै सरकारी पूर्जी बनाउने गरेको भन्दै प्रहरीले खामविरुद्ध लुटपाटसँगै अवैध यार्सा कारोबार गरेको र अवैध खरखजाना राखेको थप अभियोग लगायो।

अभियोग त लगायो। तर पक्राउमा पहल भएन। पक्राउ नहुनुको कारण माओवादीभित्रको उनको बलियो पकड नै देखियो।

पूर्वी रुकुमका खाम माओवादी सशस्त्र द्वन्द्वको सुरुआतदेखि सहभागी भएर कमान्डरसम्म भए। मुख्य त रामबहादुर थापा बादल समूहले उनलाई संरक्षण गरिरह्यो। बादलको संरक्षणमा प्रचण्डको साथहुँदा गृह प्रशासनले उनलाई पक्राउ गर्ने हिम्मत गरेन।

माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछि खाम ओली समूहतिर लागेका थिए। त्यो बेलामा सार्वजनिक रूपमै ओली खामको पक्षमा देखिएका थिए। प्रधानमन्त्रीले सार्वजनिक रूपमा प्रशंसा गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने हिम्मत गरेन।कहिले प्रधानमन्त्री दाहिना भए त कहिले प्रहरी नेतृत्व।

संयोग, एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री रहेकै सरकारले खामलाई बुधवार पक्राउ गर्यो। यस पटक प्रधानमन्त्री प्रचण्डदेखि गृहमन्त्री रवि लामिछानेसँगै प्रहरी पनि खाम समात्न सहमत भए। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले खामलाई पक्राउ गरेर प्रहरी हिरासतमा ल्याए।

खत्रीले यस अगाडि एसपीहुँदा नेतृत्वले पक्राउ नगर्नु भन्दाभन्दै कांग्रेसका तत्कालीन सांसद मोहम्मद आफताव आलमलाई पक्राउ गरेका थिए।

/रौतहट प्रहरी प्रमुखहुँदा खत्रीले नै आलमलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएर चुनावको बेलामा बनाइरहेको घरेलु बम पड्कँदा घाइते भएकाहरूलाई इटाभट्टामा जलाएको मुद्दा अगाडि बढेको थियो। आलम अहिले कारागारमा छन्।

चैत २०, २०८० मंगलबार १६:५९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।