शिक्षामन्त्री सुमनाको कामबाट सत्तारूढ दलकै नेताहरू खुसी छैनन्, संसदमा उठ्यो प्रश्न

शिक्षामन्त्री सुमनाको कामबाट सत्तारूढ दलकै नेताहरू खुसी छैनन्, संसदमा उठ्यो प्रश्न

काठमाडौं : एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठको पछिल्ला काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले शिक्षामन्त्रीले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्ने नीति लिएको भन्दै विरोध जनाए।

शिक्षामन्त्री श्रेष्ठले तयार पारेको शिक्षा उत्प्रेरक कार्यविधिले राज्यको संयन्त्रलाई अविश्वास गरिएको सांसद पाण्डेको भनाइ छ।

उनले ७४ हजार निजामती कर्मचारीलाई अविश्वास गरेर ल्याइने कार्यविधिले प्रशिक्षार्थी भर्ना गर्दा कर्मचारी प्रशासनमा कस्तो प्रभाव पर्ला सरकारले सोचेको छ? भन्दै प्रश्न गरे।

'जे मन लाग्यो त्यही निर्णय गर्न पाइन्छ? ७४ हजार निजामती प्रशासनलाई प्यारालाइज गर्न ल्याएको नीति हो यो,' उनले भने।

उनले यो कार्यविधि कुन ऐनअनुसार बनेको भन्दै 'नयाँ कुरा यही हो? नयाँ कुरा देखाउँछौँ भनेको यही हो?' उनले थपे।

सबै मन्त्रीले आफू मातहतलाई विश्वास नगरे परिस्थिति कस्तो बन्छ भन्ने उनको प्रश्न छ।

उनले गृहमन्त्रीले प्रहरीले काम नगरेको भनेर प्रशिक्षार्थी भर्ना गर्ने र रक्षामन्त्रीले पनि नेपाली सेनालाई विश्वास नगरेर छुट्टै प्रशिक्षार्थी सैनिक ल्याउँछु भने हालत के हुन्छ भन्दै प्रश्न गरे।

'आज गृहमन्त्रीले मेरो अन्डरका पुलिसले काम गरेनन् म छुट्टै पुलिस भर्ना गर्छु, रक्षामन्त्रीले छुट्टै सेना भर्ना गर्छु भन्न पाउने कि नपाउने?,' उनले प्रश्न गरे।

शिक्षामन्त्रीले यस विषयमा सदनमा आएर जवाफ दिनुपर्ने उनको माग छ।

चैत २०, २०८० मंगलबार १५:३२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।