नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बरोडासँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बरोडासँग खेल्दै

काठमाडौं : एसीसी प्रिमियर कप र विश्वकपको तयारीका लागि भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँ आफ्नो दोस्रो खेल खेल्दैछ।

साइ मेघपन स्पोर्ट्सलाइफ फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी२० सिरिजमा नेपालले आज भारतको बरोडा क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरू हुनेछ।

भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो।

नेपालसँग पराजित गुजरातले भने सोमबार बडोरालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकाल्यो।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा बरोडा पहिलो जितको खोजीमा हुनेछ।

तीन टोली सहभागी सिरिजमा हरेक टीमले हरेकसँग दुई खेल खेल्नेछ। शीर्ष दुई टोलीले २५ चैतमा फाइनल खेल्नेछ।

नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ।

यो सिरिजपछि नेपाली टोली उतैबाट एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ।

चैत २०, २०८० मंगलबार ०७:५४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।