'जनताको असल प्रतिनिधि हामी हौं, देशलाई आपत् पर्दा जुरूक्क उठेर काँध थाप्ने शक्ति हामीसँग छ'

'जनताको असल प्रतिनिधि हामी हौं, देशलाई आपत् पर्दा जुरूक्क उठेर काँध थाप्ने शक्ति हामीसँग छ'

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा आफ्नो पार्टीको प्रयोग हुन खोजेपछि समस्या भएको बताएका छन्।

अन्य दलहरूभन्दा फरक मान्यता राख्ने पार्टी भएकाले निर्वाचनको विषयले मत मतान्तर रहेकाले पार्टीमा फाटो आएको बताए।

काठमाडौंमा सोमबार आयोजित शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आफूहरूले स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको उनले स्वीकार गरे।

उनले भने, ‘हामीले खासगरी स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको कुरा साँचो हो। म देशैभर हाम्रा नेता कार्यकर्ता भेट्छु। अरूको र हाम्राबीचमा धेरै फरक छ। हाम्रो नेता कार्यकर्तामा आत्मविश्वास छ। लडिन्छ र गरिन्छ भन्ने छ। देशलाई आपत् पर्दाको दिन जुरुक्क उठेर काँध थाप्ने शक्ति नेकपासँग छ।’

जनताको न्यायका लागि विद्रोह गर्ने अधिकार नेकपासँग रहेको भन्दै उनले जनताको असली प्रतिनिधि गर्ने हिसाबले दृष्टिकोण पनि रहेको पनि दाबी गरे।

उनले भने, ‘हामी सक्छौं भन्ने पूरा आत्मविश्वास छ। हामीले के भनेका छौं भने हामीसँग अधिकार छ जनताको न्यायको लागि विद्रोह गर्ने। अधिकार जहिले पनि हुन्छ नि। जनताको असली प्रतिनिधि हामी हौं भन्ने हिसाबले हामीसँग दृष्टिकोण पनि छ।’

महासचिव चन्दले पार्टीको आदेशमा पुरानै तरिकाले राजनीतिक नचल्ने भन्दै देशका सबै कम्युनिष्टहरू एक ठाउँमा आउन आवश्यक रहेको बताए।

चैत १९, २०८० सोमबार १९:४७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।