क्लिनस्विप हुनबाट जोगियो नेपाल ए

क्लिनस्विप हुनबाट जोगियो नेपाल ए

काठमाडौँ : टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेर क्लिनस्विप हुनबाट जोगिएको छ। नेपाल ए ले यसअघिका दुई खेल हारेको थियो। नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि २ सय १४ रनको लक्ष्य विशाल लक्ष्य दिएको थियो।

आयरल्यान्ड वुल्भ्सले २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो। नेपालका बलर विपिन खत्रीको बलमा आयरल्यान्ड वुल्भ्सका तीन जना खेलाडी क्याच आउट भएका थिए। रसिद खान, नारायण जोशी र कमल ऐरीले एक-एक विकेट लिएका थिए।

कीर्तिपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमा आयरल्यान्ड वुल्भ्सले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो। नेपाल ‘ए’ ले पहिला ब्याटिङ गर्ने मौका पायो।

पहिलो इनिङमा नेपालका आरिफ शेखले ६ छक्का र ७ चौकासहित ४८ बलमा सर्वाधिक ९३ रन बनाएका थिए। रसिद खानले १३ बलमा २४ रन बनाए भने वसिर अहमदले २१ बलमा १९ रन बनाएका थिए। कमल ऐरीले ७ बलमा १९ रन बनाएर अविजित रहे।

लोकेश बम ७ बलमा ८ रन बनाएर आउट भएका थिए। देव खनाल ७ बलमा ६ रन बनाएर आउट भए। कप्तान विनोद भण्डारीले ८ बलमा ११ रन बनाए। पवन शर्राफ १२ बलमा १३ रन बनाए भने एक बलको सामना गरेका नारायण जोशी १ रनमै सीमित भए।

चैत १९, २०८० सोमबार १७:२१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।