'नेपालीहरूलाई विदेश पठाउँदा कम्तीमा एकलाख तलब तोकेर मात्र पठाउने गरियोस्'

'नेपालीहरूलाई विदेश पठाउँदा कम्तीमा एकलाख तलब तोकेर मात्र पठाउने गरियोस्'

काठमाडौं : संसदमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई कम्तीमा एकलाख मासिक तलब हुनुपर्ने माग उठेको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक तलब एक लाख तोक्न माग गरेका हुन्।

उनले विशेष समयमा रोजगारीमा गएकाहरूले काम नपाएर जेलमा जसरी बस्नुपरेको बताए।

'वैदेशिक रोजगारीमा विशेष गरेर फ्री भिसामा जानेहरूलाई डेढ लाखदेखि दुई लाख दिएर पठाइरहेको छ। तर, कतिले काम पाइरहेको छैन। भनिरहेको कम्पनीमा काम पाइरहेको छैन। बेरोजगार भएर जेलमा जसरी बस्नुपरेको छ। यसमा सरकारले पहलकदमी लियोस्,' उनले भने, 'विदेश पठाउँदा कम्तीमा यहाँका नेपाली दाजुभाइहरूलाई एक लाख बराबरको महिनाको तलब तोकेर मात्र पठाउने गरियोस्।'

त्यस्तै, उनले ०७२ सालमा गएको भूकम्प पीडितलाई राहत रकमको किस्ता उपलब्ध गराउन पनि माग गरे।

'सरकारले अहिले पनि बक्यौता दिन बाँकी छ, यो राहत हो कि आहत हो? राहत भए तुरुन्त भुक्तानी दिनुपर्यो,' राईले भने।

चैत १९, २०८० सोमबार १४:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।