एसपी बढुवा विवाद संसदमा पुग्यो, गठबन्धनले भागबन्डा गरेको अर्जुननरसिंहको दाबी

एसपी बढुवा विवाद संसदमा पुग्यो, गठबन्धनले भागबन्डा गरेको अर्जुननरसिंहको दाबी

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल प्रहरीमा जनपद समूहमा हालै निस्किएको एसपीमा बढुवाको सिफारिसमा गठबन्धनमा रहेका दलहरूले भागबन्डा गरेर सुशासनको धज्जी उडाएको दाबी गरे।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले एसपी बढुवा सिफारिसमा सत्ता गठबन्धनका दलहरुबीच सिन्डिकेट भएको दाबी गरे। प्रहरीका १२ जना डिएसपीबाट ८ जना एसपी बढुवामा सिफारिस निस्कँदा वरिष्ठतामा एक र ६ नम्बरमा रहेकालाई पाखा लगाएर सत्ता गठबन्धनका दलहरूले सिन्डिकेट लागु गर्दै आफू निकटहरूको सिफारिस गराएको दाबी गरे।

उनले गठबन्धनमा रहेका दलहरूबिचको भनाई र गराइमा भिन्नता रहेको दाबी गरे। डिएसपीबाट एसपीका लागि भएको सिफारिसमा एक र ६ नम्बरमा रहेकाहरूलाई छुटाएर ९ र १२ नम्बरमा रहेकाहरूको नाम सिफारिस गरिएको थियो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको अध्यक्षतामा बसेको  बढुवा सिफारिस समितिले बुधवार १२ जना डिएसपीमध्ये सूचीबाट ८ जनालाई एसपी बढुवाका लागि सिफारिसको निर्णय गरेको थियो।

ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे एसपी बढुवाको सिफारिसमा पर्दा दीपकुमार क्षेत्री र नारायण रञ्जितकार छुटेका थिए।  बढुवा हुन बाँकी डिएसपीको बरीयतामा क्षेत्री पहिलो र रञ्जितकार छैटौँ सूचीमा थिए। बढुवा सिफारिसमा परेका तामाङ नवौँ र घिमिरे १२ औँ नम्बरमा थिए।

चैत १९, २०८० सोमबार १४:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।