बसीर अहमद २१ बलमा १९ रन बनाएर पेभेलियन फर्किए

बसीर अहमद २१ बलमा १९ रन बनाएर पेभेलियन फर्किए

काठमाडौं : आयरल्यान्ड उल्भ्सविरुद्धको तेस्रो तथा अन्तिम टी२० मा नेपालले चौथो विकेट  गुमाएको छ।

एघारौं ओ‌भरको दोस्रो बलमा ग्याभिन होयले बसीर अहमदलाई एलबीडब्लु आउट गरे। अहमदले २१ बलमा १९ रन बनाएर आउट भए।

यसअघि पाँचौं ओभरको पाँचौं बलमा कप्तान विनोद भण्डारीलाई फियोन ह्यान्डले बोल्डआउट गरे।  उनले ८ बलमा ११ रन मात्र बनाए।

त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा देव खनाल र तेस्रो ओभरको दोस्रो बलमा लोकेश बम आउट भए। खनाललाई ह्यान्ड र बमलाई लियम म्याकर्थीले आउट गरे।

अहिले क्रिजमा आरिफ शेख र पवन सर्राफ छन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा तानिएको छ।

पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन्। आयरल्यान्डले भने टोलीमा ४ परिवर्तन गरेको छ।

आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

शनिबार दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै वल्भ्सले सिरिज आफ्नो पक्षमा पारिसकेको छ। आज नेपाली टोली सिरिज ह्वाइटवास बचाउने लक्ष्यमा हुनेछ।

चैत १९, २०८० सोमबार १३:५६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।