ऋषभ पन्तलाई १२ लाख जरिवाना
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)काे फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्ससँगको खेलपछि स्लो ओभर रेटमा दोषी ठहर भएपछि पन्तविरुद्ध कारबाही गरिएको हो।
आईपीएलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ‘दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई मार्च ३१ मा विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी स्टेडियममा भएको खेलमा चेन्नई सुपर किंग्ससँगको खेलमा स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।’
यो सिजन टोलीको पहिलो गल्ती भएकोले आईपीएलको आचार संहिता अनुसार न्यूनतम १२ लाख रुपैयाँ जरिवाना गरिएको हो।
यो सिजन स्लो ओभर रेटका कारण जरिवाना भोग्ने पन्त पहिलो कप्तान होइनन्। यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिलले पनि स्लो ओभर रेटका कारण जरिवाना भोग्नुपरेको थियो। त्यो खेल पनि गुजरातले चेन्नईसँग खेलेको थियो।
आईपीएलमा आइतबार दुई वटा खेल भए। घरेलु मैदानमा गुजरातले सनराइजर्स हैदरावादलाई पराजित गर्यो भने दिल्लीले विशाखापट्टनममा डिफेन्डिङ च्याम्पियन चेन्नईलाई २० रनले हरायो।
दिल्लीको यो सिजनकै पहिलो जित हो भने घरेलु मैदानमा लगातार दुई खेल जितेको चेन्नईको पहिलो हार।
मुम्बईको वानखेडे स्टेडियममा सोमबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीचको खेल हुँदैछ। राजस्थानको नजर जितको ह्याट्रिकमा हुँदा मुम्बई अझै पहिलो जितको खोजीमा छ।
चैत १९, २०८० सोमबार १२:५५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।