दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न अदालतको अनुमति

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न अदालतको अनुमति

एजेन्सी : मदिरा नीतिमा घोटाला गरेको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले १५ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतले दिएको म्याद सकिएपछि प्रवर्तन निर्देशनालय (ईडी)ले केजरीवाललाई राउज एभिन्यू अदालत पेश गरिएकोमा विशेष न्यायाधीश कावेरी बावेजाले उनलाई १५ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएका हुन्।

ईडीका वकिल एसभी राजुले केजरीवालले अदालतमा सोधपुछको क्रममा सहयोग नगरेको आरोप लगाउँदै उनले फोनको पासवर्ड नदिएको बताएका छन्।

दिल्ली सरकारको अहिले निष्क्रिय रहेको मदिरा नीतिसँग सम्बन्धित सम्पत्ति शुद्धिकरण मुद्दामा ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो।

केजरीवालले अन्तःशुल्क नीतिमा परिवर्तनको बदलामा दक्षिण समूहका मदिरा व्यापारीहरूबाट एक सय करोड रुपैयाँ घुस मागेको र उक्त रकम गोवा र पञ्जाब विधानसभाहरूमा प्रयोग गरिएको ईडीको आरोप छ।

केजरीवालले ईडीको गिरफ्तारी र ईडीको हिरासतलाई उच्च अदालतमा चुनौती दिएका छन् र यस मुद्दामा अप्रिल ३ मा सुनुवाइ हुनेछ।

यस मामिलामा उपमुख्यमन्त्री मनिष सिसोदिया र राज्यसभा सदस्य संजय सिंह पहिले नै न्यायिक हिरासतमा छन्।

१९ चैत, २०८०, १२:३४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।