एसईई परीक्षामा कडाइ नभएको र दोष मधेश प्रदेशलाई लगाइएकोमा सांसद झाको आपत्ति

एसईई परीक्षामा कडाइ नभएको र दोष मधेश प्रदेशलाई लगाइएकोमा सांसद झाको आपत्ति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा कडाइका साथ एसईई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा दुई मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरू, निरीक्षक र सबै अधिकारीहरूका कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटनाहरू बाहिर आएको भए पनि त्यसको मूल्य सिङ्गो मधेशले चुकाउन परेको बताए।

उनले भने, ‘अहिले मधेश आफैँ एसईई परीक्षा हुँदा चिट चोर्नेहरूको चपेटामा पर्दैछ। यसको दोष मधेसले किन खेप्दैछ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ, एसईई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ। यहीँबाट खटाइएको सिडिओ, एसपी निरीक्षक सबै अधिकारीहरूले छुट दिइरहेको छन्। तर त्यसको मूल्य मधेशले तिरिराखेको छ। यसको दोष हामी मधेसी होइन्, केन्द्रबाट खटाइने सबै अधिकारीहरु हुन्।’

उनले परीक्षालाई गम्भीरतापूर्वक लिई आवश्यक विधि, पद्धति र कडाइकासाथ गराउन माग गर्दै मर्यादित बनाउनुपर्नेमा जोड दिए।

१९ चैत, २०८०, १२:२१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।