परराष्ट्रमन्त्रीले देशमा भन्दा विदेशमा बसेर बढी काम गर्ने हो : मन्त्री श्रेष्ठ

परराष्ट्रमन्त्रीले देशमा भन्दा विदेशमा बसेर बढी काम गर्ने हो : मन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक अवस्थाबारे चिनियाँ नेताहरूलाई बुझाउनका लागि पनि आफ्नो लामो भ्रमण भएको बताएका छन्।

नौ दिने चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले भने, ‘नेपालको अवस्थाबारे चिनियाँ नेताहरूलाई बुझाउन र त्यसमा आर्थिक, प्राविधिक र अन्य सहयोगका लागि आग्रह गर्दा लामो समय लाग्यो।’

यसका साथै उनले आफ्नो भ्रमण नौ दिनको नभएर सात दिनको मात्र भएको समेत स्पष्ट पारे।

‘मेरो भ्रमण नौ दिनको भनियो तर सात दिनको मात्र हो,’ उनले भने, ‘जाँदा राति ११ बजेको फ्लाइट भनेको थियो १२ बजेभन्दा पछि नै भयो र आउँदा अहिले विहान ११ बजे यहाँ आइसकेको छु।’

परराष्ट्र र विदेश मन्त्रीहरूले स्वदेशमा भन्दा पनि विदेशमा बसेर धेरै काम गर्नुपर्ने स्मरण गराउँदै यसलाई सामान्य रुपमा लिनुपर्ने बताए।

‘विदेश वा परराष्ट्र मन्त्रीले आफ्नो देशमा बसेर भन्दा पनि बाहिर बसेर काम गर्ने हो,’ उनले थपे, ‘अहिले मेरो भ्रमणको मुख्य उदेश्य आर्थिक विकास र समृद्धिमा चीन र नेपालको अन्तरनिर्भरताको स्थितिलाई सुदृढिकरण गर्नु हो।’

मन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चैत १२ गते चीन गएका थिए।

चैत १९, २०८० सोमबार ११:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।