१० अर्ब ३६ करोड मागदावी गर्दै राजश्वले अमेरिकी सफ्टवेयर कम्पनीविरुद्ध मुद्दा दर्ता गर्‍यो

१० अर्ब ३६ करोड मागदावी गर्दै राजश्वले अमेरिकी सफ्टवेयर कम्पनीविरुद्ध मुद्दा दर्ता गर्‍यो

काठमाडौँ  : नेपालमा रहेको अमेरिकी सफ्टवेयर कम्पनी ‘कोटीभिटी नेपाल प्रालि’ विरुद्ध १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो र जरिवाना दाबी गर्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। कोटीभिटी कम्पनीले सेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तनबारे जानकारी नदिएर ५ अर्ब १८ करोड २२ लाख रुपैयाँ राजस्व चुहावट गरेको दाबी गर्दै सो रकमको दोब्बर १० अर्ब ३६ करोड तिराउने माग दाबीसहित उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको हो।

आइतबार दर्ता गरेको अभियोग पत्रमा विभागले अनुसन्धानका क्रममा कोटिभिटी इंक (होल्डिङ कम्पनी) को सहायक कम्पनी कोटिभिटी नेपाल प्रालिले राजस्व छली गरेको देखिएको उल्लेख छ।

विभिन्न आर्थिक वर्षमा कम्पनीको सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार कम्पनीले दर्ता रहेको मध्यमस्तरीय करदाता कार्यालयलगायत नेपाल सरकारअन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानुनबमोजिम तिर्नु/बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ।

विभागका अनुसार कम्पनीको साबिकको नाम भर्सिक इन्फरमेसन टेक्नोलोजी प्रालि रहेकोमा २०७३ साउन २८ गतेको सेयर धनीको निर्णयअनुसार कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गरी कम्पनी रजिस्ट्रार कार्यालयले २०७३ भदौ ८ गते स्वीकृति प्रदान गरेको थियो।

कम्पनीले २०७५ कात्तिक १ को सेयर धनीको विशेष निर्णयबमोजिम भर्सेन्ड टेक्नोलोजी प्रालि नाम परिवर्तन गरेर कोटीभिटी नेपाल प्रालि कायम गर्न निवेदन दिएको थियो। २०७५ पुस ८ को पत्रबमोजिम हालसम्म सो कम्पनीले कोटीभिटी नेपाल प्रालिको नामबाट कारोबार गर्दै आएको देखिएको विभागको दाबी छ।

विभागले आर्थिक वर्ष २०७२-७३ मा कुल १७ लाख ५ हजार २ सय २ कित्ता शेयर भेरिक्स हेल्थ इन्क, संयुक्त राज्य अमेरिकाको नाममा गएको प्रमाणित सेयरधनी दर्ता किताबबाट देखिएको दाबी गरेको छ।

२०७५ जेठ २१ मा कम्पनीको तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल शेयरधनी भर्सेन्ड टेक्नोलोजी इंक, संयुक्त राज्य अमेरिका रहेकोमा मिति २०७५ कात्तिक २६ मा कम्पनीको तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसार कम्पनीको एकल सेयरधनी कोटिभिटी इंक संयुक्त राज्य अमेरिकामा रहेको देखिएको तर यसबारे नेपालको कुनै नियामक निकायलाई जानकारी गराएको देखिँदैन।

चैत १८, २०८० आइतबार १८:३४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।