महाजात्राको महासंयोग : हलमा ६ विदेशी फिल्म लाग्दा नेपालीमा एक्लै, शोज् पनि सयभन्दा माथि

महाजात्राको महासंयोग : हलमा ६ विदेशी फिल्म लाग्दा नेपालीमा एक्लै, शोज् पनि सयभन्दा माथि

काठमाडौं : अहिले नेपालका हलमा नेपाली, हिन्दी र अंग्रेजी भाषाका गरेर सात फिल्म लागिरहेका छन्।

शुक्रबार नयाँ नेपाली फिल्म रिलिज नहुँदा नेपाली भाषाको एक्लो फिल्म महाजात्रा बनेको छ।

शुक्रबार भारतीय फिल्म 'क्रु' रिलिज भयो। क्रु ले आइतबार ७० हाराहारीको शोज् पाएको छ। महाजात्राको शोज् संख्या एकसय माथि नै छ। हिन्दी भाषाको क्रुसँगै सैतान र म्याडगाउँ एक्सप्रेस लागिरहेको छ।

अंग्रेजी भाषाको गोड्जिल्ला एक्स कंग, कुङफु पान्डा फो र ड्युन लागिरहेका छन्। रिलिज भएदेखि नै महाजात्राले दुई सय बढी शोज् पाइरहेकोमा क्रुले शोहरू लिँदा एकसय तीस शोज् पाएको छ।

समीक्षकको नजरमा मध्यम प्रतिक्रिया पाएको फिल्मले सिक्वेलको ब्रान्डको राम्रै फाइदा पाएको देखियो।

बक्स अफिस रिपोर्ट सार्वजनिक हुँदा फिल्मको ब्यापारमा प्रभाव परेको भन्दै दबाब बढाउँदा चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न छाड्यो। महाजात्रा टिमले सामाजिक सन्जालमा ब्यापारको आँकडा सार्वजनिक गर्दै साढे ६ करोड ग्रस कलेक्सन भएको दाबी गरिसकेका छन्।

शोज् संख्याका आधारमा निर्माण टिमको दाबी अपत्यारिलो देखिन्न।

निर्देशकदेखि प्रमुख कलाकारसम्म पारिश्रमिकभन्दा नाफाको हिस्सामा बसेकाले फिल्मले लगानी सुरक्षित गरिसकेको देखिन्छ।

निर्देशक प्रदीप भट्टराईको दाबी अनुसार उनले निर्देशन गरेका फिल्ममध्ये महापुरुषले १५ करोड ग्रस कलेक्सन गरेको थियो।

महाजात्राले पाएको शोज् संख्याले निरन्तरता पाए पनि महापुरुषको रेकर्ड ब्रेक गर्न कठिनै देखिन्छ।

 

 

चैत १८, २०८० आइतबार १३:२०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।