कलाकारले गर्दा ‘चित्रा’मा डेढ करोड डुबाएका निर्माता सन्तोष भन्छन्- 'पब्लिसिटीमा नहिँड्ने कलाकारलाई किन लिने?'
काठमाडौं : एकाधलाई छोडेर पछिल्ला अधिकांश नेपाली फिल्मको व्यापार हेर्ने हो भने हरिबिजोग भयो। त्यही हरिबिजोग भोगेको फिल्ममध्ये एक हो, ‘चित्रा।’
गत पुस २७ गते हलमा लागेको यो फिल्मको प्रचारप्रसार गतिलो हुन सकेन। फिल्मका मुख्य कलाकार अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का र अन्जना बराइलीले प्रचारप्रसारमा साथ दिएनन्।
फिल्ममा कलाकारहरुले बलियो साथ नदिएपछि निर्माता तथा अभिनेता सन्तोष अधिकारी आफैं दौडधुपमा लागे। निर्देशक घनश्याम लामिछानेलाई लिएर उनले चिनेजानेलाई प्रचारमा साथ दिन आग्रह गरे तर उनले मिडियाको पनि त्यति राम्रो साथ नपाएको गुनासो गर्छन्।
उनले फिल्म हलमा चलेको झण्डै तीन महिनापछि आफ्नो पिडाहरू फुकाए। डेढ करोड लगानीमा निर्माण गरेको फिल्मलाई आफ्नै कलाकारले साथ नदिँदाको पिडा बोकेर उनी अष्ट्रेलिया हुँइकिए। उनले त्यो समयमा कलाकारले राम्रो साथ दिएको भए फिल्म अझै चल्थ्यो कि भन्ने आश बोकेका रहेछन्।
उकेरासँगको कुराकानीमा विगतका कुरा कोट्याउँदै उनी भन्छन्‘चित्रा फिल्ममा साथीभाइको सहयोग न्युन देखियो। पत्रकारले 'तीन जना कलाकारहरू थिए, तिनीहरू खै?' भन्दा केही भन्नै सकिनँ।’
उनले थपे, ‘चित्रा’का कलाकारहरू न ट्रेलरमा आइदिनुभयो, न प्रिमियरमा । सबैलाई बोलाइयो कहीँ पनि आइदिनुभएन। त्यतिविधी दुश्मनी किन साँध्नुपर्थ्यो र? हामीले पेमेन्ट गरेकै थियौँ। तर, खै नयाँ भनेर हो की कलाकारहरुले साथ दिनुभएन।’
उनले अबको फिल्ममा पहिलो गल्ती नदोहोर्याउने पक्षमा रहेको बताए। आगामी वर्ष दोस्रो फिल्मको घोषणा गर्ने तयारीमा रहेका उनी अघिल्ला फिल्मका कलाकारलाई नदोर्याउने पक्षमा देखिए।
‘आफूलाई अफ्ठ्यारोमा परेको बेला साथ नदिने कलाकार दोस्रो फिल्ममा किन लिने?’, ‘उनले भने, ‘अबको फिल्ममा पहिला नै प्रचारप्रसार नगदिर्नेलाई म लिने पक्षमा छैन।’
पहिलो फिल्म सिकारू भएको र दोस्रो फिल्म अब्बल बनाउने उनको भनाइ छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका अधिकारी वर्षमा एउटा फिल्म बनाउने र राम्रो बनाउने कोसिस गर्ने बताउँछन्। उनले पहिलो फिल्म नै अन्तिम फिल्म जस्तो व्यवहार कलाकारले गरेको सुनाए।
उनले भने, ‘निर्माताहरूसँग कन्ट्रयाक्ट मात्र गरेर हुँदैन। फिल्ममा पब्लिसिटीमा नहिँड्ने कलाकारलाई फिल्ममा कसरी खेलाउने? म त पहिलो फिल्मबाट नै चेतिसकेँ।’
यसअघि उनले फिल्म ‘आमा’, ‘घर’ र ‘तीन जन्तु’ मा सह–निर्माताको रुपमा काम गरेका थिए। कार्यकारी निर्माताको रुपमा भने उनी ‘चित्रा’मार्फत नेपाली दर्शकमाझ आएका हुन्। यही फिल्मबाट उनले अभिनेतामा डेब्यु गरेका थिए।
चैत १८, २०८० आइतबार १३:०९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।